धरान: धनकुटाको चौबिसे गाउँपालिका १ मा दशैं मान्न पाहुना आएकासहित ६ जनाको पहिरोले मृत्यु भएको छ । 

गए राती करिब १२ बजेतिर पहिरोले ६० बर्षीय भीमबहादुर श्रेष्ठको घर पुरिएको थियो । पहिरोले घर परिदा घरधनी श्रेष्ठसहित उनका नाती ९ बर्षीय विनोद, नातिनी ५ बर्षीया निर्जलाको मृत्यु भएको छ भने पाहुना आएका झापाको दमक १ का ३९ बर्षीय सञ्जिव श्रेष्ठ(भतिज), ३८ बर्षीया लक्ष्मी श्रेष्ठ र ७ बर्षीय दिप्सन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दिपककुमार रायले जानकारी दिए ।

डिएसपी रायका अनुसार पहिरोमा परि घाइते हुनेमा घरमुली भीमबहादुरकी श्रीमति ५४ बर्षीया गणेशकुमारी, छोरा ३१ बर्षीय छोरा भेषबहादुर, २८ बर्षीय चन्द्रबहादुर,२९ बर्षीया लिला, ३३ बर्षीया उषा ( मृतक सञ्जिवकी श्रीमति) र ११ बर्षीय सञ्जाल श्रेष्ठ छन् । घाइते मध्ये केही गम्भीर रहेको र अस्पताल लैजान पहल भइरहेको पनि डिएसपी रायले बताए । उनका अनुसार ठाउँ ठाउँमा पहिरो साथै खोलाले बाटोमा क्षति भएको कारण पनि समयमा नै गम्भीर घाइते भएकाहरुलाई अस्पताल लैजान समस्या भइरहेको छ । अहिले स्वास्थ्य केन्द्रको टोली घटनास्थलमा नै पुगेर प्राथमिक उपचार भइरहेको पनि उनले जानकारी दिए ।