धरान: दुई दिनअघिको भारी बर्षासँगै सर्दु खोलामा आएको बाढीले धरानको प्रसिद्ध पर्यटकीय गन्तव्य चिण्डे डाँडा जान निर्माणाधिन पुलमा क्षति पुगेको छ । 

सर्दु खोलामा निर्माणाधिन पुलको पश्चिमतर्फ स्पानको लागि ढलाई गर्न स्काफोल्डिङ लगाएर बाँधेको डण्डी बाढीले लडाएको हो । ‘ढलाई गर्न स्काफोल्डिङ लगाएर डण्डी बाँधेको रहेछ, बाढी आएर लडाएको छ, डण्डीहरु लच्किएको छ, अब फेरि उठाउनुपर्छ,’अनुगमन पश्चात धरान उपमहानगरका ईञ्जिनियर सुरज श्रेष्ठले भने । 

बर्षा र बाढीले पुर्याएको क्षतिबारे स्थलगत अनुगमन गर्न बुधबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, सशस्त्र प्रहरीका डिएसपी, ईलाका प्रहरी कार्यालयका डिएसपी र उपमहानगरपालिकाका प्राविधिकहरु गएका थिए । उक्त टोलीले धरान १३ नागेश्वर मार्गमा पहिरोले घर पुरिदा २ जना बच्चा मृत्यु भएको स्थानको पनि स्थलगत अनुगमन गरेको थियो । 

dharan-badhi-masane

वडा नं १ स्थित विद्युत प्राधिकरण मार्गमा खहरेले कटान गरेको र विजुलीको पोल पनि ढलेको कारण प्राधिकरणलाई तत्काल खबर गरेपछि पोल स्थानान्तरण गरिसकेको ईञ्जिनियर श्रेष्ठले जानकारी दिए । वडा नं ५ झोडापाटास्थित मसाने खोलामा माथिल्लो क्षेत्रबाट बगेर आएको ढुंगा,गिट्टी, माटो थुप्रिएर बाढी ओभरफ्लो भई बग्दा बस्तीमा पुगेर दर्जन जति घरलाई डुबानमा पारेको अवस्थामा भेटिएको पनि श्रेष्ठले जानकारी दिए । ती मध्ये एउटा घर बढी क्षति पुगेको छ  यस्तै, वडा नं १६ स्थित नौलो बस्ती नजिक सर्दु खोलामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत निर्माण गरिएको एउटा रिटेनिङ वाल लडेको छ । वडा नं ११ स्थित वन डाँडामा सर्दुले केही ठाउँमा कटान गरेको देखिएको छ ।

सुकुम्बासी बस्ती सधै जोखिममा

dharan-badhi- 1

धरानलाई नेपालकै नमुना तथा विकसित सहर मानिन्छ । यहाँ इटहरी र विराटनगर जस्तो बर्षेनी बाढीको डुबान हुने खतरा पनि छैन । तर पुर्वकै धेरै सुकुम्बासी बस्ती रहेको कारण हरेक बर्ष बर्षाको समयमा ती वस्तीहरुमा क्षति हुने जोखिम रहन्छ । 

धरानको सुकुम्बासीहरु दुई ठुला खोला सर्दु र सेउतीको किनारमा बसेको छ । यस्तै, धरानको बीच भएर बगेको साना, ठुला खहरे खोलाहरुको किनारमा पनि थुप्रै सुकुम्बासी बस्ती छ । ती वस्तीहरु बर्षाको बेला जहिल्यै जोखिममा हुन्छन् । ईञ्जिनियर श्रेष्ठ ऐलनी, पर्ति जग्गामा बसेका अव्यवस्थित तथा सुकुम्बासी वस्तीहरु जोखिममा रहेको बताउँछन् ।

dharan-sardu-badhi1

ती वस्तीहरुमा आफुखुशी घर निर्माण हुने र आवश्यक मापदण्ड पनि पालना नहुने भएकोले समस्या छ । ‘धरान इटहरी जस्तो डुबान क्षेत्र पनि होइन, यहाँको राजनीतिक नेतृत्वले सुरक्षित बस्ती बसाउन योजना बनाएर अघि बढ्नुपर्छ, र सबै राजनीतिक दलहरु इमान्दार भएर समाधान गर्नुपर्छ,’श्रेष्ठ भन्छन् । 

धरानमा अव्यवस्थित बस्ती तथा सुकुम्बासी बढ्नुमा राजनीतिक दलहरुको स्वार्थ प्रमुख कारण हो । भोट बैंककोरुपमा रहेका सुकुम्बासीहरुको समस्या समाधान हुनु भन्दा पनि बर्षेनी बढ्दो छ, तर पनि राजनीतिक स्वार्थको लागि सार्वजनिक जग्गा, ऐलती पर्ति एवं खोला किनारमा राजनीतिक दलहरुकै संरक्षणमा बस्ती बसाउने गरिन्छ । दलहरुले लगत संकलन गरेर धरानमा थप सुकुम्बासी बस्ती बस्न नदिने सहमति गरेपनि राजनीतिक स्वार्थको लागि बस्ती बसाइरहेका छन् ।