धरान: धरानको वडा नं १५ निराजन बस्ती र वडा नं ४ को खैरेनीटारको बीचमा पर्ने सेउती खोलामा ६ बर्षमा पक्की पुल तयार भएको छ । 

स्थानीयले बनाएको काठको पुल विस्थापित हुने गरि पक्की पुल निर्माण कार्य २०७२ सालमा शुरु भएको थियो । तर, पर्याप्त बजेट अभावले प्रभावित भएको पुल अन्तत ः ६ बर्षपछि निर्माण सम्पन्न भएको हो । पुल तयार भएर हाल यातायात आवत जावत पनि शुरु भइसकेको छ । तर, पुलको औपचारिक उद्घाटन भने बाँकी रहेको पुल निर्माण समितिका सचिव एवं वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङले जानकारी दिए । उनले भने,‘यो पुल तयार भएपछि हामीलाई एकदमै सुविधा भएको छ, हामी वडा नं ४ बासी ज्यादै खुशी भएका छौ ।’

यो पुल बनेपछि खैरेनीटार, वसन्तटार, दानाबारी, देवी गाउँ, हर्दियालगायत क्षेत्रका बासिन्दा जुनसुकै समयमा पनि धरानको मुख्य बजार क्षेत्रमा आउजाउ गर्न सक्ने भएका छन् । धरान उपमहानगरपालिकामा भएर पनि यी क्षेत्रका बासिन्दा बर्षाको समयमा धरान बजार आउन निक्कै समस्या हुने गथ्र्यो । अहिले पक्की पुल भएको ठाउँमा स्थानीयले बनाएको काठे पुल बर्षाको कारण सेउतीमा बाढी आउदा क्षतिसमेत भएको थियो भने स्थानीय जोखिम मोलेर खोला तर्नुंपर्ने बाध्यता थियो । 

seuti-bridge1

यो पुल निर्माण गर्न कुल ३ करोड ३३ लाख खर्च भएको समितिका सचिव कुलुङले जानकारी दिए । उनका अनुसार शुरुवाती ३ बर्ष १५ लाख ४० हजार जनसहभागितासहित ९७ लाख उपभोक्ता समितिमार्फत खर्च भएको थियो । त्यसमध्ये निर्वाचन क्षेत्र विकास कोषबाट सांसद मीन बिकले २ पटक गरि ४७ लाख र सभासद कृष्णकुमार राई ले ३० लाख उपलब्ध गराएका थिए । यो बजेटले ३ वटा पिलर ठडिएपछि बजेट अभावले निर्माण कार्य प्रभावित भएको थियो ।

पछि, सभामुख प्रदिपकुमार भण्डारी, सांसद जयकुमार राई, कार्यवाहक मेयर हुँदा उपमेयर मञ्जु भण्डारी सुवेदीको पहलबाट केन्द्रीय सरकारबाट बजेट विनियोजन भएर ठेक्कामार्फत निर्माण कार्य सम्पन्न भएको पनि सचिव कुलुङले जानकारी दिए । उनका अनुसार संघीय सरकारको भौतिक पुर्वधार मन्त्रालयबाट २ करोड ३६ लाखको ठेक्कामार्फत स्लाब, साइडवाल, बिमलगायतको निर्माण कार्य भएर पुल तयार भएको छ । मन्त्रालयले उपमहानगरपालिकालाई अख्तियारी दिएपछि टेण्डर गर्दा खाम्पासे निर्माण सेवाले पाएको थियो । पुल निर्माणको सुपरीवेक्षण कार्य भने इटहरीस्थित एलआरडिपिले गरेको थियो । 

यो पुल हुदै धरान भेडेटार राँके सडक खण्डमा पनि जोडिनेछ, र भविष्यमा पाँचथरको राँके जाने अर्को वैकल्पिक मार्ग पनि हुनेछ । यो पुल हुदै धरानबाट दानाबारी, हर्दिया हुदै कन्यापोखरीमा भेडेटार राँके सडकखण्डमा जोडिन्छ । राजारानी हुदै राँके जानको लागि धरानबाट भेडेटार नगई सिधै कन्यापोखरी निस्केर जान सकिनेछ । 

seuti-bridge2