धरान: प्रदेश नं १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्डलाई नै खारेज गरेको छ । 

बिहिबारको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान र बोर्डलाई खारेज गर्ने निर्णय गरेको हो । प्रतिष्ठान र बोर्ड नेकपा एमाले नेतृत्वको अघिल्लो दुई सरकारको पालामा गठन भएको थियो । दुवै संरचना एमालेको कार्यकर्ताहरुको भर्तिकेन्द्र बनेको भन्दै अन्य दलहरुले आलोचना गर्दै आएको थियो । नेकपा एकीकृत समाजवादी(एस)को नेतृत्वमा गठबन्धनको सरकार बनेपछि दुवै संरचना खारेजीको निर्णय भएको हो । यसअघि मन्त्रिपरिषदको पहिलो बैठकले पनि अघिल्लो सरकारको सबै निर्णय तथा नियुक्तीहरु असंवैधानिक ठहर गर्दै खारेजी प्रक्रियामा लैजाने निर्णय भएको थियो । 

मन्त्रिपरिषद बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ। यसैगरी प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तरगत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय बिहिबारको मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले प्रतिष्ठानको चल अचल सम्पति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानून मन्त्रालयको हुने निर्णयसमेत गरेको छ।

एमाले नेता शेरधन राई मुख्यमन्त्री भएको बेला प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा यज्ञ शर्मा नियुक्त भएका थिए भने उनीपछि मुख्यमन्त्री भएका भीम आचार्यको पालामा प्रदेश पर्यटन बोर्डको उपाध्यक्ष फणिन्द्र अधिकारी नियुक्त भएका थिए ।