धरान: कडा सुरक्षा व्यवस्थाबीच नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को निर्वाचन शुरु भएको छ । 

दुहबी रंगशालामा बिहान १० बजेदेखि मतदान शुरु हुने भनिए पनि एक घण्टा ढिला गरि ११ बजेर १० मिनेटमा मात्र शुरु भएको थियो । स्थानीय पत्रकार चन्दन रौनियारका अनुसार तीन तहको सुरक्षा घेराभित्र मतदान भइरहेको छ । मतदानस्थलमा पत्रकारहरुलाई तस्बिर खिच्न प्रवेश गर्न पनि रोक लगाइएको उनले जानकारी दिए । कांग्रेसको क्षेत्र नं ३ मा ७७२ जना क्षेत्रीय प्रतिनिधिहरु छन् । यो क्षेत्र कांग्रेस नेता विजयकुमार गच्छादारको क्षेत्र हो । उनी यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका हुन् । उनले नै सहमतिमा नेतृत्व चयन गर्न खोज्दा सबैतिर क्षेत्रीय कार्यसमितिको नयाँ नेतृत्व आइसक्दा पनि यहाँ निर्वाचनमा ढिलाई भएको हो ।

सुनसरी ३ को क्षेत्रीय कार्यसमितिको सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ । जसमा मेहेदी हुसैन, प्रदिप चौधरी र सत्यनारायण गच्छदार छन् । ती मध्ये चौधरीले हुसैनलाई सघाउने सहमति भएको छ । तर, गन्छदारले ब्याक हुन नमाने पछि निर्वाचनबाट नै छिनोफानो हुने भएको हो । हुसैन पौडेल कोइराला समुहबाट उम्मेदवारी दिएका थिए भने चौधरीले संस्थापन समुहबाट उम्मेदवारी दिएका हुन् । यस्तै, अर्का उम्मेदवार गच्छदारले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चौधरीले हुसैनलाई सहयोग गर्ने सहमति भएपनि सत्यनारायणले सथर्मन गर्न नमाने पछि चुनावी प्रक्रियाबाट नै नेतृत्व चयन हुन लागेको हो । क्षेत्र नं ३ मा महाधिवेशन प्रतिनिधिका उम्मेदवारसहित कुल ७४ जनाको उम्मेदवारी परेको छ । ती मध्ये ३ जना निर्विरोध भइसकेका छन् ।