धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । 

आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आयोजक संस्थाको भनाई छ । यसपाली नेपालकै धेरै धावकधाविकहरु सहभागी गराइने भएको छ भने जनचेतनामुलक कार्यक्रमसहित ह्विल चेयर रेस पनि आयोजना गरिने सल्लाहकार गोपाल राईले जानकारी दिए ।

प्रतियोगिताको दर्ता फारम शुक्रबारदेखि नै खुला भइसकेको पनि आयोजकले जनाएको छ । खेलाडीहरुलाई दर्ता शुल्क ४ सय र विद्यार्थीहरुलाई ३ सय तोकिएको छ । साथै, प्रतियोगितामा १७ बर्षदेखि ३९ बर्षसम्म भित्रका खुल्ला दौडमा अघिल्लो सँस्करणको भन्दा १० हजार पुरस्कार राशी वृद्धि गरिएको पनि आयोजकले जानकारी दिएको छ । 

dharan-run5 1

मुख्य स्पर्धातर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकहरुलाई जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार दिइनेछ । १२ बर्षमुनिको समुहमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार दिइनेछ भने १२ देखि १६ बर्षसम्म भित्रकाले पनि क्रमश ः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछ । यस्तै, ४० बर्षदेखि माथिका भेट्रान दौडका विजेताले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछन् ।

यसैगरि, ६० बर्ष माथिका धावकधाविकालाई पनि आकर्षक पुरस्कार दिइनेछ भने धरानका स्थानीय धावकधाविकालाई प्रोत्साहन स्वरुप पहिलो र दोस्रो हुने पुरुष, महिलालाई पनि आकर्षिक पुरस्कार दिइने आयोजकको भनाई छ । प्रतियोगितामा सहभागी सबैलाई टिसर्ट उपलब्ध गराइनेछ भने पहिला आइपुग्ने २ हजार जना धावकधाविकहरुलाई आकर्षक मेडल दिइनेछ । वातावरण स्वच्छ र सफा राख्न प्रतियोगिता अवधिभर प्लाष्टिकजन्य बोतल, गिलासको प्रयोग न्युनिकरण गरिनेछ । 

१२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

dharan-run8 1

धरान रन नेवा च्यारेटी एजुकेशन फण्डमार्फत १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिएको छ । धरान १० के रन प्रतियोगिताबाट संकलित रकम पछिल्लो समय आयोजकले शिक्षाको निम्ति अक्षय कोष स्थापना गरेको छ । अक्षय कोषमा हालसम्म ११ लाख ८२ हजार रकम जम्मा भएको छ । 

सोही अक्षय कोषको ब्याजबाट ३ ३ महिनामा छात्रवृत्ति दिने गरिएको अध्यक्ष रमु राईले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने, जेहेन्दार र पढ्न चाहने विद्यार्थीहरु छनौट गरेर छात्रवृत्ति दिइने गरिएकोछ । यसपाली १२ जना मात्र विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको उनले बताए । छानिएका विद्यार्थीहरुलाई स्वीटर, स्कुल ड्रेस, स्टेशनरी, जुत्ता, स्कुल ब्यागलगायत आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइएको छ।

भिडियो:

dharan-run9

dharan-run10

dharan-run6

dharan-run7 1