विराटनगर: नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशन बिहिबार उद्घाटन हुदैछ । 

अधिवेशनको आयोजक समितिले सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिका संयोजक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बैठक बसेको थियो । उक्त बैठकले अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको थियो । 

अधिवेशनको उद्घाटन विराटनगर अस्पताल नजिकैको खुला मैदानमा दिउँसो २ बजे हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने निर्णय गरेको छ भने प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा शुरु गर्ने निर्णय गरेको प्रचार समितिका संयोजक राजिव कोइरालाले जानकारी दिए । यस्तै, शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उमेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएकोछ ।

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन् । 

कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ । 

बुधवार बसेको अधिवेशन आयोजक समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, प्रदेशका सांसद, महानगर, नगरपालिका–गाउँपालिकाका मेयर/अध्यक्षहरु सहभागी थिए ।