धरान: राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण कार्य भइरहेको छ । 

सर्दु खोलादेखि पुर्व झापाको शान्तिनगरसम्मको निर्माण कार्य अहिले प्याकेजमा भइरहेको छ । उक्त निर्माण कार्यको धरानका मेयर तिलक राईको नेतृत्वमा बिहिबार स्थलगतरुपमा निरीक्षण गरिएको छ । राजमार्गको धरान खण्डमा भइरहेको निर्माण कार्यको समस्या बुझ्न तथा एलाईमेन्टको समस्या समाधान गर्न निरीक्षण गरिएको हो । मेयर राईको नेतृत्वमा आयोजना तथा ठेकेदार कम्पनीका ईञ्जियरहरुसहितको टोलीले बिहीबार स्थलगत निरिक्षण गरेको हो । 

धरान उपमहानगरपालिकाका वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठका अनुसार सर्दु खोलाको पुल र पूर्वबाट आउने राजमार्गको एलाईमेन्टमा करिब ५ सय मिटर जति तलमाथि परेको छ । उक्त क्षेत्रमा पुलबाट लाने कि सोझो गरेर लैजादा अर्को पुल बनाउने भन्ने विषयमा पनि अनुगमनको क्रममा छलफल भएको उनले जानकारी दिए । त्यस क्षेत्रका बासिन्दाहरुले दिएको विकल्पमा पनि प्राविधिक रुपबाट के गर्दा उपयूक्त हुन्छ भनेर अध्ययन गरिएको उनले बताए । 

madan2

श्रेष्ठका अनुसार सडक विभागले तोकेको एलाईमेन्ट परिवर्तन गर्दा गाह्रो हुन्छ । विवाद भएको ठाउँमा बनाउन नसकिने अवस्था भए पुर्नविचार गर्न सकिने उनको भनाई छ । ‘एलाईमेन्ट परिवर्तन गर्ने बित्तिकै त्यसको आइईई गराउनुपर्छ, फेरि सरकारबाट स्वीकृति गराउनुपर्छ । डेढ वर्षमा सम्पन्न गराउने सम्झौता भएको आयोजनालाई एक, डेढ वर्ष लम्बयाउनुपर्ने हुन्छ । त्यसकारण एलाईमेन्ट परिवर्तन गर्नुभन्दा नगर्नु नै उपयुक्त हुन्छ,’उनले भने । 

सर्दु खोलामा निर्माण भएको पुल र आईरहेको बाटोको एलाईन्मेन्ट थोरै मात्र नमिलेको प्राविधिकहरुको भनाई छ । सिधा गर्नलाई नयाँ पुल बनाउने वा उक्त ठाउँमा बाटो घुमाएर पुलसम्म ल्याउने भन्ने विषयमा ठोस निर्णय गर्नुपर्ने अवस्था रहेको पनि श्रेष्ठले बताए । अन्य ठाउँमा भने एलाईन्मेन्ट परिवर्तन गर्नुपर्ने अवस्था नरहेको उनले प्रष्ट पारे । मदन भण्डारी राजमार्ग विपी प्रतिष्ठानको दक्षिणपट्टिको भागबाट जाने बाटोमा जंगल पर्छ । त्यहाँ भएका रुखहरुमा सडक विभागले टाँचासमेत लगाइसकेको छ भने ठाउँठाउँमा कल्भर्ट निर्माण पनि भइरहेको छ । 
madan