धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक नयाँ सि.टि. स्क्यान मेशिन सञ्चालनमा आएको छ । 

प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि.टि.मेशिन सञ्चालनमा आएको हो । उक्त मेशिन हिजो मंगलबारदेखि जडान भएर सञ्चालनमा आइसकेको प्रतिष्ठानले जनाएको छ । यो क्षमताको सिटि मेशिन उपत्यका बाहिर पहिलो पटक प्रतिष्ठानमा सञ्चालनमा आएको हो । यो मेशिनबाट द्रुत गतिमा स्क्यान गर्न सकिने हुँदा विरामीलाई विकिरणीय जोखिम पनि अत्यन्तै न्युन हुने प्रतिष्ठानले जनाएको छ । सुक्ष्मरुपमा गहिराईसम्म यो मेशिनले स्क्यान गर्नसक्ने हुँदा अबदेखि मुटुको सिटि स्क्यान, मृगौलाको सिटि स्क्यानलगायत अति बिशिष्ट परीक्षणहरु पनि यहीबाट हुनेछ । 

bp-ct1

प्रतिष्ठानमा दैनिकरुपमा सरदर ५० जना विरामी सिटि गर्न आउने गर्छन् । यो मेशिनले ६० वटा सिटि गर्ने लक्ष्य राखेको छ । नयाँ प्रविधिको र अत्याधुनिक मेशिन भएकोले रेडियोलोजी विभागका प्राविधिक कर्मचारीहरुलाई तालिम दिने कार्य भइरहेको छ भने सिटि स्क्यान गरेर विरामीलाई सेवा पनि दिइरहेको विभागले जनाएको छ । यो मेशिन आएपछि विरामीले सहजरुपमा सेवा पाउनेछन् भने विद्यार्थीहरुलाई पठनपाठन र अनुसन्धान कार्यमा पनि टेवा पुग्ने अस्पताल प्रशासनको भनाई छ । 

सिटि स्क्यान औपचारिकरुपमा हस्तान्रतण गर्न भने बाँकी रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । यसअघि प्रतिष्ठानमा २ वटा सिटि मेशिन सञ्चालनमा रहेको थियो । ती मध्ये रेडियोलोजी विभागको मुख्य सिटि मेशिन बिग्रिए पछि विरामीहरु मर्कामा थिए ।