धरान: धरानमा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक धेरे संक्रमित हुनेमा अधिकांश उपमहानगरपालिका र वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मीहरु छन् ।

संक्रमणको लक्षणहरु देखिएपछि हिजो मंगलबार १८ जनाको परीक्षण गरिएको थियो । ती मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ती मध्ये अधिकांश उपमहानगरपालिका र वडा कार्यालयका कर्मचारीहरु हुन् । संक्रमित भएकामध्ये ८ जना धरान १९ हरियाली सामुदायिक वनमा रहेको आइसोलेसन सेन्टरमा राखिएको पनि उनले जानकारी दिए।

पछिल्लो समय धरान डे उत्सव, विभिन्न कन्सर्टहरु निरन्तर आयोजना भएको थियो । धरान डे उत्सवमा कर्मचारीहरु सक्रियरुपमा खटिएका थिए । अधिकांश कर्मचारीहरु एकै चोटी रुघामर्की लागेर लक्षण देखिएपछि जाँच गरिएको मेहताको भनाई छ । ‘हिजो १५ जना र आज थप १ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ,’मेहताले भने । घरमा बस्न सहज हुनेहरु होम आइसोलेसनमा बसेको र अन्य आइसोलेसन सेन्टरमा राखिएको उनको भनाई छ । 

धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार वडा नं १३, १४, १९, ७, ११ र २० का वडा सचिव पनि संक्रमित छन् । धेरै कर्मचारीहरु संक्रमित देखिएको वडा १४ र २० मा आजदेखि एक सातालाई सेवा बन्द गरिएको खतिवडाले जानकारी दिए । भोलीदेखि वडामा पनि सेवा बन्द गरिने र अन्य वडाहरुमा पनि समन्वय भइरहेको उनले बताए । 'उपमहागनर र वडा कार्यालयका कर्मचारीहरु थुप्रै संक्रमित देखिए, वडा १४ र २० को सेवा एक सातालाई बनद भएको छ, वडा ११ पनि भोलीदेखि बन्द हुदैछ,' उनले भने ।