धरान: किराती समुदायले मनाउने यलम्बर सम्बत्को नयाँ बर्ष ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार धरानको विजयपुरगढीबाट बेलुन उडाइएको छ । 

धरान १४ स्थित विजयपृुर चोकबाट किरात राई यायोक्खा सुनसरीको आयोजनामा बिहिबार ८२ वटा बेलुन उडाइएको हो । आयोजक, प्रमुख अतिथि र अतिथिहरुले एकसाथ बेलुन उडाएका थिए । धरान उपमहानगरपालिका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले विजयपुर प्राचिन किरात कालको ऐतिहासिकस्थल भएकोले बेलुन उडाएर येले सम्बत् मनाइएको बताए । नेपालको सम्बतहरुमा सबै भन्दा जेठो सम्बत येले सम्बत नै रहेको दाबी गर्दै उनले प्राचिन मौलिक सम्बत भएकाले राष्ट्रिय मान्यता दिन सरकारसँग पनि माग गरे । 

yayokha3

यायोक्खा सुनसरीका निवर्तमान अध्यक्ष बलराम राईले यललम्बर सम्बत किरात राईको मात्र नभएर किरात भुगोलको सम्बत् भएको धारणा राखे । उनले नेपालको सबै भन्दा जेठो सम्बत र सबै नेपालीको साझा सम्बतको रुपमा बुझ्न पनि आग्रह गरेका थिए । येशु ख्रिष्टको चलनको पश्चिमा इस्वी सम्बत र भारतको विक्रानन्दले चलन चल्तीमा ल्याएको विक्रम सम्बतलाई राष्ट्रिय सम्बत मानिरहदा नेपालको मौलिक सम्बत यलम्बर सम्बतलाई पनि राष्ट्रिय सम्बतको रुपमा मानिनुपर्ने उनले बताए । 

उक्त कार्यक्रममा धरान वडा नं १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईको उपस्थिति रहेको थियो । चोकबाट उडाइएको बेलुनमा प्रदेश नं. १ किरात प्रदेश र यलम्बर सम्बत ५०८२ लेखिएको व्यानर पनि राखिएको थियो । कार्यक्रममा सहभागी तथा अतिथिहरुले साकेला समेत नाचेका थिए । कार्यक्रममा उपस्थित वडा १४ का वडाध्यक्ष भट्टराई र किराया धरान नगर समिति अध्यक्ष लोकेन्द्र राईलाई फेटा गुथेर सम्मान समेत गरिएको थियो ।

yayokha1

yayokha2

yayokha4