धरान: धरानका मेयर तिलक राईले धरानमा आवश्यकता भन्दा धेरै सहकारी भएको र गरिब जनताको पैसा उठाएर व्यक्तिगत लगानी गरिरहेकोले समस्या सृर्जना भएको बताएका छन् । 

हिजो बिहिबार बोधिचित्त बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मेयर राईले यस्तो धारणा राखेका हुन् । उनले धेरै सहकारीहरु भएकोले उपमहानगरपालिकाले राम्रोसँग व्यवस्थापन गर्न नसकेको पनि बताए । साथै उनले सहकारी व्यवस्थापक र सञ्चालकहरुले लुटिखाने भाडो बनाएको पनि बताए । राजनीतिक दलहरुले धरानमा सहकारी थप्न नहुने सुझाव दिईरहेको खुलाउदै उनले धरानका सहकारी संस्थाहरुलाई मर्ज गरेर व्यवस्थित बनाउनुपर्ने सुझाव पनि आइरहेको बताए ।

उपमहानगरपालिकामा प्रत्येक हप्ता सहकारीले पैसा खाईदियो भनेर निवेदन परिरहेको भन्दै मेयर राईले भने, ‘मैले जम्मा गरेको म्याद पुग्यो । त्यो सहकारीको सञ्चालक भाग्यो । पास बुक छ, पैसा दिदैन भनेर धेरै वटा निवेदन परेको छ । नयाँ सहकारी थप्ने हो कि, नथप्ने हो कि भनेर छलफल पनि भईरहेको छ । यस विषयमा उपमहानगरपालिका गम्भिर छ ।’ 

मेयर राईले पछिल्लो समय धरानमा सहकारी संस्थाहरुले आर्थिक अनियमितता गरेको घटनाहरु बाहिरिन थालेको बताउँदै यसलाई बेलैमा व्यवस्थित गर्न नसके भोलि गएर ठूलो समस्या उत्पन्न गर्नसक्ने बताए । ‘अहिले सहकारीहरु कसरी डुबिरहेको छ ? किन डुबिरहेको छ ? तपाईहरुको पनि पैसा परेको होला । पछि तपाईहरुनै निवेदन लिएर नगरपालिकामा आउनुहुन्छ । त्यसकारणले गर्दा अब उपमहानगरपालिकासँग जे व्यवस्था छ । त्यसलाई हामिले अनुगमन गर्नुपर्छ । नियमन गर्नुपर्छ । भएका सहकारीहरुलाई पनि व्यवस्थित गर्नुपर्छ,’उनले भने ।  

सहकारी शाखा प्रमुख भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकामा ८८ वटा सहकारी संस्थाले दर्ता गराएको तथ्यांक छ । सहकारीले करिब १९ करोड रुपैयाँ हिनामिना गरेको उपमहानगरपालिकामा निवेदन परेको उनले जानकारी दिए । कतिपय सहकारीका सञ्चालकहरुले आफ्नो सम्पति सकेर बचतकर्तालाई निल बनाएको अवस्था रहेको पनि उनले बताए ।

प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आर्थिक सेवा सुविधाहरु सहर केन्द्रित भएको बताउँदै ग्रामिण अर्थतन्त्रमा टेवा पुगोस् भन्ने उद्देश्यले सरकारले सहकारी ऐन ल्याएको बताए । उनले सहकारी सञ्चालकहरुको बदनियतले बचतकर्ताहरुलाई समस्या परेको औल्याए । पाँच हजार जनसंख्या नपुगेसम्म सहकारी संस्था दर्ता गर्न नपाईने पनि जानकारी दिए । उनले धरानमा विगतमा जे जे कमजोरी भए अब त्यस्तो कमजोरीलाई सुधार गरेर लैजाने प्रतिवद्धता जनाए ।

२०७४ मा संघिय सरकारले सहकारी ऐन बनाएको छ भने धरान उपमहानगरपालिकाले पनि २०७५ मा सहकारी ऐन बनाएको छ । कार्यक्रमका सभाध्यक्ष समेत रहेका बोधिचित्त बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार लोकबहादुर थिङले सहकारीहरु बजार केन्द्रित भएको भन्दै सहकारी दर्ताको स्वीकृति गरिदिन आग्रह गरेका थिए ।