विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गरेका छन् ।

कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गरेका हुन् । मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवका अनुसार विराटनगरका १३, १४, १७ र १८ नम्वर वडाका खोप केन्द्रहरुमा पुगेर मन्त्री यादवले अनुगमन गरेका थिए । उनले लक्षित वर्गहरुले खोप पाए÷नपाएको अवस्थाबारे खोप केन्द्रका स्वास्थ्यकर्मीहरुसँग जानकारी लिएका थिए । साथै, लक्षित वर्गहरुबाट खोप नपाएको भन्ने गुनासो नआउने गरि काम गर्न निर्देशन पनि दिएका थिए । 

मन्त्री यादवले खोप केन्द्रमा आएका कुनैपनि व्यक्ति खोप नपाएर फर्कने अवस्था आउन नदिन निर्देशन दिए । साथै उनले स्वास्थ्य मापदण्ड पालना गरि खोप लगाउन र अनावश्यक भीडभाड नगर्न आग्रह गरेका थिए । उनले भने, ‘कसैको निर्देशनमा भन्दा पनि खोप केन्द्रमा आएका व्यक्तिहरुलाई पालैपालो खोप लगादिनुहोस् ।’ 

खोप केन्द्रमा आएका व्यक्तिहरुलाई मन्त्री यादवले कुनै गुनासो भए तुरुन्त आफुलाई जानकारी गराउन पनि आग्रह गरे । उनले अनुगमन गरेका ४ वडाका खोप केन्द्रमा आएका स्थानीयवासी र स्वास्थ्यकर्मीहरुसँग जानकारी लिएका थिए ।