धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर स्वास्थ्य मन्त्रालयले प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई पठाए पछि पनि प्रतिष्ठानले सहज निकास पाएको छैन ।

डा.यादव सोमबार प्रतिष्ठानमा आइसकेका छन् । तर सरकारको निर्णयप्रति नै कानुनी प्रश्न उठिरहेको बेला डा.यादवले काम अघि बढाउन सकेको छैनन् । प्रतिष्ठानका कर्मचारी कल्याण समाज, फ्याकल्टी वेल्फेयार सोसाइटीले पनि डा.यादवलाई पठाउने सरकारको निर्णय कानुन सम्मत नभएको प्रतिक्रिया दिइसकेको छ । कानुनी उल्झन र प्रश्नको बीचमा डा.यादवले पनि काम अघि बढाउन सकिरहेका छैनन् । उनी बुधबार सर्वोच्च अदालतबाट के आदेश आउछ भन्ने पखाईमा रहेको बताइएको छ ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका छन् । यो मुद्दाको पेशी बुधबार छ । मन्त्रालयबाट आएका डा.यादवले ठोस काम शुरु नगरे पनि भेटघाटको क्रमलाई भने जारी राखेका छन् । उनले गेष्टहाउसमा बसेर भेटघाट जारी राखेको बेला मंगलबार प्रतिष्ठानकै अफिसर्स क्लब र संयुक्त कर्मचारीहरुको बैठक बसेको थियो । उक्त बैठकले पनि सरकारको निर्णय र निर्देशनले प्रतिष्ठानमा अन्योल बढाएको भन्दै सर्वोच्चको आदेश पर्खने निष्कर्ष निकालेको अफिसर्स क्लबका सहसंयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।

सरकारले पठाएका डा.यादवलाई प्रतिष्ठानको ऐन, नियमावली अनुसार नियुक्त गरेर नपठाएकोले उनको निर्देशक पालना गर्ने कि नगर्ने भन्ने अन्योल भएको श्रेष्ठको भनाई छ । उनको आदेश अनुसार गरिएको कामले वैधानिक पाउछ कि पाउदैन भन्ने अन्योल सबैमा भएकोले अदालतको आदेश पर्खने निष्कर्ष निकालिएको उनको भनाई छ । 

कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले पनि ऐन र नियमावलीले ४ जना पदाधिकारीलाई मात्र चिन्ने र उनीहरुको मात्र स्पष्ट काम, कर्तव्य र अधिकार तोकिएकोले सरकारले पठाएको डा.यादवबारे अन्योल भएको बताए । ऐन, नियमावलीमा व्यवस्था नभएको व्यक्तिलाई सरकारले पठाउदा उनको निर्देशनमा हुने कामले कानुनी मान्यता नपाउने र भोली निर्देशन पालना गर्ने कर्मचारी जिम्मेवार हुने भएकोले ठुलो समस्या भएको देखिएको बताए । अदालतबाट सरकारकै पक्षमा आदेश आएपनि डा. यादवको पद प्रतिष्ठानमा प्रष्ट नभएकोले समस्या रहीरहने उनको भनाई छ । ‘अदालतबाट के आदेश आउछ, त्यसपछि पुनः बैठक बसेर निर्णय गर्ने छलफलमा निष्कर्ष भएको छ,’उनले भने ।