धरान: धरानका १२ देखि १७ बर्ष उमेर समुहका ३७ सय भन्दा बढी विद्यार्थीहरुले हिजो (सोमबार) कोरोनाविरुद्धको खोप लगाएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सोमबार धरानका विभिन्न ११ वटा खोप केन्द्रमा ३ हजार ७ सय ५४ जनाले खोप लगाएका छन् । ती मध्ये १ हजार ९ सय ९९ जना छात्र र १ हजार ७ सय ५५ जना छात्रा छन् । सोमबार धरानको विष्णु मेमोरियल, पंचायत मावि, ज्ञानोदय मावि, लिबर्टी बोडिंग, आइडियल, एम्स, हिमालयन, सुनाखरी, पब्लिक मावि, सैनिक आवासिय, नेपाल पुलिस र दन्तकाली माविमा खाप केन्द्र राखिएको थियो ।

sunakhari-vaccine

यसअघि, पहिलो दिन धरानमा ४ हजार ३ सय ९७ जना विद्यार्थीले खोप लगाएका थिए । पहिलो र दोस्रो दिन गरि धरानका ८ हजार १ सय ५१ जना विद्यार्थीले खोप लगाइसकेका छन् । विद्यार्थीहरुलाई मोर्डना खोप दिइरहेको छ । आज र भोलीसमेत विभिन्न स्कुलमा तोकिएको खोप केन्द्रमा विद्यार्थीलाई कोरोनाविरुद्ध खोप दिइनेछ ।

आज यी विद्यालयहरुमा लगाइदैछ खोप

आज पनि धरानका विभिन्न ११ वटा विद्यालयमा तोकिएको खोप केन्द्रमा १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई खोप दिइदैछ । स्वास्थ्य महाशाखाका अनुसार यसको लागि वीपी प्रतिष्ठान हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलमा खोप केन्द्र राखिएकोछ । 

यस्तै, धरान १५ स्थित शिक्षा सदन मावि र पुर्वाञ्चल ज्ञान चक्षु विद्यालय, होलिल्याण्ड इन्टरनेशनल स्कुल, नवज्योति स्कुल, चिल्ड्रेन्स एकेडेमी, च्याम्पियन स्कुलमा पनि खोप केन्द्र राखिएको छ । यसैगरि, धरान १६ स्थित शारदा बालिका मावि, नाष्ट कलेज र सियोन स्कुलमा पनि खोप केन्द्र रहने स्वास्थ्य महाशाखाले जनाएको छ ।

khop4