धरान: एक नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

तनहुँ जिल्ला अदालतले शाहलाई ७ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । एक गायिकाले आफुलाई पटक पटक झुटो प्रेमको नाटक गरेर करणी गरेको भन्दै तनहुँ प्रहरीमा शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पछि फरार रहेका शाहले आज तनहुँ पुगेर प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।

उनलाई प्रहरीले म्याद थपको लागि अदालत पुर्याएको थियो । तनहुँका डिएसपी युवराज खड्काले अदालतबाट ७ दिनको म्याद थप भएको र हिरासतमा राखेर अनुसन्धान अघि बढाउने सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । 

चितवनको गैडाकोटमा पनि बलात्कारको उजुरी

अभिनेता शाहविरुद्ध चितवनको गैडाकोटमा पनि अर्को बलात्कारको उजुरी परेको छ । प्रहरीका अनुसार सुटिङको लागि गैडाकोटमा आएको बेला होटलमा जर्बजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।

जाहेरीमा शाहले २०७७ चैत ७ गते करणी गरेको उल्लेख छ । जाहेरी दर्ता गराउन किसोरी र उनका बुबा प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले जाहेरी परेपछि अनुसन्धान शुरु गरिएको जनाएको छ ।