विराटनगर: प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । 

मन्त्रालयमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका हुन् । उनको प्रथमिकता २० बुँदाको रहेको छ । मन्त्रालयका गतिबिधिहरुलाई थप ब्यबस्थित र सुदृढ गर्दै लाने उद्देश्यले मन्त्रालयका नियमित काम बाहेक पहिलो सय दिने कार्ययोजना तयार गरेर कार्यान्वयनमा ल्याइएको बताए । कार्य योजनाका कार्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले निर्दिष्ट गरेका प्राथमिकता र तत्कालिन आबश्यकातालाई सम्बोधन गर्नेगरी तयार गरिएको पनि उनले बताए । 

प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुवाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि एक स्वास्थ्य रणनीति तयार गर्ने, स्वास्थ्य वीमा वोर्डको प्रदेश नं. १ को कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने मन्त्री यादवको प्राथमिकतामा समेटिएको छ । यस्तै, मेची अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्वन्धिको निर्देशिका स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेस गर्ने पनि प्राथमिकता रहेको छ । 

यस्तै, मन्त्रालयमा महाशाखा र शाखाहरुको कार्य विवरण तयार गर्ने, प्रादेशिक आर्युवेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आप्mनै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढिकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी, इनरुवा अस्पताल र गाइघाट अस्पताललाई आकस्मीक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्नेलगायत प्राथमिकता रहेको मन्त्री यादवले बताए ।