धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिने प्रत्यक्ष मुत्रनली शल्यक्रिया सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । 

प्रतिष्ठानको सर्जरी विभाग, यूरोलोजी डिभिजनको आयोजनामा फागुन १४ र १५ गते नेपालमै पहिलो पटक प्रत्यक्ष मूत्रनली शल्यक्रिया सम्बन्धि कार्यशाला भएको हो । प्रतिष्ठानका अनुसार यो कार्यशाला एससिआई हस्पिटल नयां दिल्ली भारतका प्रख्यात यूरोलोजिष्ट तथा मुत्रनली बिशेषज्ञ डा.गौतम बांगाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यशालाको उद्घाटन सर्जरी विभागका प्रमुख प्रा.डा.राकेश गुप्ताले गरेका थिए ।

डा.गुप्ताका अनुसार मुत्रनलीको समस्या र शल्यक्रिया दुवै अत्यन्त जटिल हुने भएकोले यस्तो किसिमको शल्यक्रिया हरेक अस्पतालमा हुदैन । प्रतिष्ठानमा पनि साधारण खालको मुत्रनलीको समस्याका शल्यक्रियाहरु हुदै आएको थियो भने केही जटिल समस्याको लागि अन्यत्र रेफर गरिन्छ । तर पनि ती विरामीहरु प्रतिष्ठानमै फर्केर आउने गरेकोले यस प्रकारको जटिल मूत्रनली सम्बन्धी समस्याहरुको कार्यशालाको आयोजना गरिएको आयोजक समितीका अध्यक्ष तथा यूरोलोजी डिभिजनका सहप्राध्यापक डा. रिकेश जंग कार्कीले जानकारी दिए ।

workshop

दुई दिने कार्यशालामा मूत्रनलीका जटिल समस्या भएका दिर्घरोगीहरु ६ जनाले सेवा पाएका थिए । जसमध्ये दुई वर्ष देखि पेटमा प्वाल पारि पाइपबाट पिसाब फेर्दै आएका सप्तरीका ३६ बर्षीय पुरुषको पनि सफल शल्यक्रिया भएको यूरोलोजी डिभिजनले जनाएको छ । अब केही दिनपछि पेटमा राखिएको पाइपबाट पिसाब फेर्न नपर्नेमा उनी निकै हर्षित छन् । उनी जस्तै सडक दुर्घटनामा परि मुत्रनलीमा जटिल चोट लागेका र नली छिनिएका विरामीहरुको अब प्रतिष्ठानमा नै उपचार सम्भव हुने डा. कार्कीले जानकारी दिए ।

कार्यशाला अवधिमा शल्यक्रियाहरु प्रतिष्ठानको मोडुलर अप्रेशन थिएटरमा भएको थियो भने त्यसको प्रत्यक्ष प्रशारण प्रतिष्ठानको अडिटोरियम हलमा भइरहेको थियो । अडिटोरियम हलबाट सहभागीहरुले अप्रेशन थिएटरमा प्रत्यक्ष कुराकानी तथा प्रश्नोत्तर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । साथै त्यसको प्रत्यक्ष प्रशारण इन्टरनेट मार्फत संसारभरि गरिएको कार्यक्रमका आयोजक समितिका सदस्य डा. शैलेश महर्जनले जानकारी दिए । 

अडिटोरियम हलबाट सहभागीहरु तथा अप्रेशन थिएटरमा शल्यचिकित्सकहरु बीच संवाद गराउन मध्यस्थकर्ताका रुपमा नोबेल मेडिकल कलेज, बिराटनगबाट सह प्राध्यापक डा. साम सागर शाह, बिराट मेडिकल कलेज, बिराटनगरबाट सह प्राध्यापक डा. दिपक ठाकुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सह प्राध्यापक डा. प्रकाश क्षेत्री र बीर अस्पताल, काठमाडौंबाट सह प्राध्यापक डा.चितरञ्जन शाहको उपस्थिती रहेको थियो । यस्तै, अप्रेशन थिएटरमा डा. गौतम बांगा र डा. रिकेशजंग कार्कीका साथमा डा. आवाज काप्mले, डा.समीर चौधरी, डा. शैलेश महर्जन तथा डा. योगेश मण्डलको उपस्थितीमा शल्यक्रिया भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।