धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन धरान क्षेत्रका जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 

धरान उपमहानगरपालिकामा बुधबार भएको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट जग्गा संरक्षणमा पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । मेयर राईको अध्यक्षतामा भएको बैठकमा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको पनि बिशेष उपस्थिति रहेको थियो । बैठकले सबैले आ आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको मेयरका प्रेस संयोजक पारस राईले जानकारी दिए । 

बैठकमा सभामुख भण्डारीसँगै प्रदेशसभा सदस्यहरु चन्द्रप्रसाद श्रेष्ठ (डिआइजी), उमिता वराइली, सात्रिवी श्रेष्ठ जोशी, उपमेयर मञ्जु भण्डारी सुवेदी सहभागी थिए । यस्तै, महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिका संयोजक कुमार बहादुर कार्की, क्याम्पस प्रमुख दामोदर भण्डारी, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पनि सहभागी थिए । 

क्याम्पसको जग्गा प्रकरण उच्च अदालतमा विचाराधिन रहेकोले बलियो कानूनी प्रतिरक्षा गर्ने पनि प्रतिवद्धता वैठकमा सबैले जनाएका थिए । बैठकमा जग्गाको मोहियानी सम्बन्धी विवाद र क्याम्पसबाट भएको प्रयासहरुको विषयमा पनि छलफल भएको थियो । 

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए । मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउदै आएका छन् । स्रेस्ताबाट मोहीको लगतकट्टा नहुदा अहिले भुमाफियाले मोहीको छोरालाई अघि सारेर जग्गा कब्जा गर्न लागेको हो । मोहीले जग्गाको ५० प्रतिशत जग्गा पाउने कानुनी प्रावधान छ । यो हिसाबले क्याम्पसबाट मोहीले पाउने जग्गाको मुल्य कम्तीमा २० करोडको हुन्छ । 

 क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन छैन । त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ । मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ । घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर  मोही हक आफ्नो नाममा नामसारी गर्न भुमिसुधार कार्यालयमा निवेदन दिएपछि उक्त कार्यालयले मोही हक नामसारी गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध क्याम्पस प्रशासनले पुष १४ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ ।