धरान:शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका छन् । 

प्रहरीका अनुसार चारै जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । चारै जना झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिदै डिएसपी कुँवरले अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यथार्थ जानकारी हुने बताए । 

प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ बर्षीया समिक्षा थाप आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्थामा भेटिएकी थिइन् । यस्तै, आइतबार बिहान करिब ८ बजे धरान १६ नौली बस्तीकी १४ बर्षीया नन्दिनी मरिक पनि आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

यस्तै, धरान ११ भवानी चोक बस्ने करिब ४० बर्षका विरोध सुनुवार पनि पाशो लागेको अवस्थामा भेटिएको थियो भने शनिबारदेखि हराएका धरान १६ बस्ने ३५ बर्षीय सोनु शेर्पा आइतबार जंगलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

धेरै जसो आत्महत्या मानसिक रोगको कारण हुन्छ: चिकित्सक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग बिशेषज्ञ डा.मधुर बस्नेत धेरै जसो आत्महत्याको घटना मानसिक रोगकै कारण हुने बताउँछन् । मानसिक रोगमध्ये पनि धेरै डिप्रेसनको मनोरोगी हुने उनले बताए । 

विश्वव्यापी अध्ययन प्रतिवेदनमा ९० प्रतिशत बढी मानसिक रोगको कारण आत्महत्या भएको देखिएको छ । नेपालको सन्दर्भमा राम्रो अध्ययन नभए पनि कतिपय घटना आवेशमा आएर गर्ने र आत्महत्याको साधनस्रोत (बिष, सिलिंग पंखा)लगायतको पहुँच सहज भएर भएको डा.बस्नेतले बताए । उनका अनुसार दुव्र्यसनको कारणले पनि आवेशमा आएर आत्महत्या गर्नेहरु छन् । ‘बिशेष गरि रक्सीको दुव्र्यसनले आवेशमा आएर आत्महत्या गर्ने हुन्छ । रक्सीको कारणले अरु मानसिक समस्या भएर पनि गर्ने गरेको छ,’ डा.बस्नेतले भने ।

आत्महत्या गर्नबाट कसरी रोक्ने ?

madhur

आत्महत्या रोक्नको लागि सबैभन्दा पहिला यो मानसिक रोग भएकोले उनीहरुलाई समयमा नै उपचार गराउनुपर्ने डा.बस्नेत बताउँछन् । दोस्रो, आत्महत्याको साधनस्रोतको सहज पहुँच हुन नदिनुपर्ने उनको सुझाव छ । ‘बिषादीहरु घरमा सजिलै भेट्ने गरि राख्नु हुदैन । झुण्डिएर मर्नसक्ने भएकोले सिलिङ पंखालाई पनि सहजरुपमा भेट्न नसक्ने हुनुपर्छ,’ उनले भने,‘तेस्रो कुरा आत्महत्याबारे जनचेतना जगाउनु हो । कसैले आत्महत्याको कुरा गर्यो भने वा प्रयास मात्रै पनि गर्यो भने अस्पतालमा लगेर उपचार गराउनुपर्छ ।’

डा.बस्नेतका अनुसार आत्महत्याको प्रयास गर्दा ज्यानै जोखिम भयो भने मात्र उपचारको लागि अस्पताल लैजाने चलन छ । तर, प्रयास गर्दा मात्र पनि उपचारमा लगेमा कारण पत्ता लगाएर ज्यान जोगाउन सकिने उनको भनाई छ । ‘उसलाई परेको समस्या के हो भन्ने कोणबाट सुनिदियो भने मानिस जोगिन्छ । आत्महत्या सोचाई आउने व्यक्तिले पनि यो रोगले गर्दा यस्तो भएको हो, अरुलाई आफ्नो कुरा भन्दा जोगिन सक्नु भन्ने थाह पाउदैन, त्यो थाह पायो भने सोचाई आउदा अरुसँग सेयर गर्यो भने पनि ज्यान जोगिन्छ,’ डा.बस्नेतले भने,‘विभिन्न मिडिया, सामाजिक सञ्जालमा गर्ने पोष्टले पनि आत्महत्यामा भुमिका खेल्छ । फलानो व्यक्तिले, फलानो ठाउँमा यसरी मर्यो भनेर पोष्ट गर्दा वा समाचार बनाउदा आत्महत्या सोच बनाएको अर्को व्यक्तिले पनि त्यसरी नै आत्महत्या गर्न सक्छ । त्यसैले मिडिया रिपोटिङ गर्दा पनि एकदमै ध्यान दिनुपर्छ ।’