धरान: चैत्र १५ गते देखि सुरु हुन लागेको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ ।

     प्रतियोगिताको अन्तिम तयारीमा रहेको आयोजक धरान मेघा हिमालयन कलेजले आइतबार कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै १६ टिमले सहभागिता जनाउने जानकारी दिएको हो । प्रतियोगितामा धरान र धरान आसपासका जिल्ला तथा क्षेत्रका विद्यालयका वास्केटवल टिमले सहभागिता जनाउने आयोजनले जनाएको छ । सहभागी हुने विद्यालयहरुमा आयोजक ए र बि, कार्मेल स्कुल, एम्स एकेडेडी, होलिल्याण्ड स्कुल, धरान आर्दश, समिट स्कुल, आइडियल स्कुल, सियोन स्कुल, विर्तामोड रहेको छ । यस्तै, पदम मेमोरियल, विष्णु स्कुल, हिमशिखर तरहरा, जुनियर पायनियर, सुम्निमा स्कुल र डिपो स्कुलले पनि प्रतियोगितामा सहभागिता जनाएको भएको छ । 

प्रतियोगितामा सहभागी हुने टिममा १९ वर्षका तथा २० वर्ष नपुगेका ११ र १२ कक्षाका ६ जना विद्यार्थी सहभागी हुन पाउछन् भने कक्षा १० सम्मका ६ जना विद्यार्थीहरुले खेलाडीकोरुपमा सहभागिता जनाउन पाउनेछन् । कक्षा १० सम्मको हकमा भने १२ जना खेलाडिले नै सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

       प्रतियोगिता दिवंगत उदयमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा हुन लागेको हो । बास्केटवल खेलमा सम्भावना वोकेका उदयमान खेलाडी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । कक्षा १० मा अध्ययन गरिरहेको रेवाहाङ राईको असमाहिक निधन पछि उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन, सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल बास्केटवल संघका केन्द्रिय अध्यक्ष सुरजकुमार लामाले पत्रकार सम्मेलनमा बताए ।

      प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले गर्नेछन् भने समापनमा प्रमुख अतिथि प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई हुने पनि आयोजक धरान मेघा हिमालयन कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेमले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफि पव एण्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाण पत्र पुरस्कार दिइनेछ । उदयीमान खेलाडीले ट्रफ्रि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ । यो प्रतियोगिताबाट काठमाण्डौमा हुन लागेको २३ वर्ष मुनिका राष्ट्रिय बास्केटवल प्रतियोगिताको लागि पनि खेलाडी छनौट गरिने प्रदेश १ बास्केटवल प्रशिक्षक एवं प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । गत वर्ष उक्त प्रतियोगितामा धरान मेघा हिमालयन कलेजले सुनसरीको प्रतिनिधित्व गरेको थियो ।     

कफि पव थ्री पोइन्ट कम्पिटिसन हुने

प्रतियोगिताको फाइनल खेल अघि कफि पव थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागि खेलाडीले १ मिनेट थ्री पोइन्ट सट गर्नेछ ।  त्यस मध्येवाट उत्कृष्ट तिन खेलाडी छनौट हुनेछ ।

फाइनल चरणमा छनौट भएका मध्येबाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट वास्केट गर्नेछ, उक्त खेलाडी नै कफि पव थ्री पोइन्ट च्याम्पियन घोषित हुने संयोजक चाम्लिङले जानकारी दिए । थ्री पोइन्ट च्याम्पियनले नगद २ हजार, कफि पव फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछ ।