धरान: सुनसरी र झापा जिल्लामा हिजो (शनिबार) भएको छुट्टा छुट्टै सडक दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । 

 सुनसरीको बराहक्षेत्रमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको हो भने झापाको अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिकामा भएको दुर्घटनामा थप २ जनाको ज्यान गएको हो । ट्राफिक प्रहरीका अनुसार शनिबार बराहक्षेत्र नगरपालिका ९ सयपत्री चौकस्थित भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३१ प ५३९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि मोटरसाइकल चालक राजाबासका २३ बर्षीय अमृत बिकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

दुर्घटनामा उनको टाउकोमा चोट लागेको थियो भने बोल्न नसक्ने गम्भिर अवस्थामा थिए । सोही मोटरसाइकलको पछाडि सवार २७ बर्षीय प्रकाश बिक पनि गम्भीर घाइते छन् । दुवैलाई उपचारको लागि बिराट नर्सिङ होम विराटनगर लगिएको थियो । उपचारको क्रममा चालक बिकको मृत्यु भएको हो । मोटरसाइकल तीब्र गतिको कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । 

यसैगरि, झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ पुष्पलाल चौकस्थित भित्री पक्की सडक खण्डमा उतरवाट दक्षिण तर्फ जादै गरेको प्र।१(०१(००१ च ९१०७ नं। को पिकअपले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्री ५३ बर्षीय कृष्ण निरौलाको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । अर्का पैदलयात्री बिर्तामोड नगरपालिका ५ का ४५ बर्षीय अर्जुन उप्रेती गम्भिर घाईते भएका छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । 

यस्तै, झापाकै गौरादह नगरपालिका वडा नं १ स्थित भित्री पक्की सडक खण्डमा पश्चिमवाट पुर्व तर्फ जादै गरेको मे.२ प ३९१२ नम्बरको मोटरसाइकल रोकि राखेको पानी ट्यांकरमा ठोक्किदा एक जनाको ज्यान गएको छ । बिग्रेर सडकमा रोकेर राखेको को.१ क २४७९ नम्बरको पानी ट्यांकीमा मोटरसाइकल ठोक्किदा चालक ३८ बर्षीय राम बहादुर सोरेनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्याङ्कर चालक फरार छन् । ट्याङ्करको ईन्जिन खराब भएर सडकमा रोकिराखेको थियो ।