धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउन भन्दै शुरु भएको आन्दोलनको दोस्रो दिन पनि धर्ना दिइएको छ । 

प्रतिष्ठानको डेन्टल मेन गेटबाहिर धर्ना दिइएको हो । हामी नेपाल नाम गरेको संस्थाको अगुवाईमा आइतबारदेखि घोपा बचाउ अभियान शुरु भएको हो । पहिलो दिन भानुचोकबाट र्याली निकालेर डेन्टल गेट अघि धर्ना दिइएको हो । सोमबारदेखि भने हरेक दिन दिउँसो ४ बजे डेन्टल मेन गेट अघि धर्ना दिइने कार्यक्रम छ । 

उपचार सेवा खस्कदै गएको र सर्वसाधारण विरामीहरुले सास्ती भोग्नु परिरहेको भन्दै हामी नेपालको अगुवाईमा प्रतिष्ठान बचाउ आन्दोलन शुरु भएको हो । प्रतिष्ठानको इर्मजेन्सीमा विरामीले बेड नपाएर भुँईमा उपचार भइरहेको, अप्रेशनको लागि महिनौ कुर्नु पर्ने र समय कुर्दाकुर्दै ज्यान जोखिममा पर्ने, सिटि स्क्यान र ल्याब टेष्ट गर्न अनावश्यक ढिलाई हुने, अव्यवस्थित व्यवस्थापनले जता पनि घण्टौं लाइनमा उभिनुपर्नेलगायत बेथिती र समस्याहरु प्रतिष्ठानमा रहेको हामी नेपालले जनाएको छ । 

यस्तै, कमिशनको चक्करमा गुणस्तरहिन सामान खरिद गरि जनताको जीवन धरापमा पार्ने काम गरिएको, एमआरआई जस्तो अत्यावश्यक मेशिन नहुदा विरामी विराटनगरलगायत अन्यत्र अस्पताल धाउनु बाध्य भएको, आइसियु बेड पर्याप्त नहुदा विरामीले ज्यान गुमाउनु परेकोलगायत समस्याहरु प्रतिष्ठानमा देखिएको अभियानको भनाई छ । 

यी समस्याको समाधान गर्न यसअघि बैकुण्ठ अर्याल नेतृत्वले तयार पारिएको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन तुरुन्त लागु गर्नुपर्ने, उच्चस्तरीय छानबिन आयोग गठन गरि दोषी कर्मचारी तथा पदाधिकारीहरु माथि कारबाही गर्नुपर्ने, खरिद तथा टेण्डर प्रक्रिया पारदर्शिढंगले सम्पुर्ण विवरण वेव साइटमा राख्नुपर्नेलगायत मागहरु पनि अभियानले अघि सारेको छ । 

सोमबार वृहत अन्तरक्रिया हुने

घोपा बचाउ अभियानले सोमबार वृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । दिउँसो १ बजे धरान ७ स्थित पुरानो सिल्ड्रेला बेकरी क्याफेको हलमा अन्र्तक्रिया हुने अभियानले जानकारी दिएको छ । उक्त अन्र्तक्रियामा धरानको सामाजिक संघसंस्थाका पदाधिकारीहरु, अभियानकर्ताहरु सहभागी हुने बताइएको छ ।