धरान: धरान उपमहानगरपालिका वडा नं. २० स्थित विष्णुपादुकामा नवनिर्मित प्रसुति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन भएको छ । 

धरान उपहानगरपालिकाका मेयर तिलक राईले बिहिबार नवनिर्मित उक्त केन्द्र भवनको उद्घाटन गरेका हुन् । मेयर राईले साविक विष्णुपादुका गाविस धरानमा गाभिएपछि विकाससँगै सेवा सुविधा पनि धेरै दिईएको बताए । स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरुलाई गर्भ अवस्थामा कति संख्यामा महिलाहरु छन् भनेर तथ्यांक राख्न पनि मेयर राईले आग्रह गरे । मेयर राईले वडामा रहेका हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकी सहितको बर्थिङ सेन्टर भवन उपयोगी हुने बताए ।

उपमेयर मञ्जु भण्डारीले नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताइन् । बर्थिङ सेन्टरमा आउने सुत्केरीहरुलाई सहज सुविधायूक्त सेवा दिनुपर्ने उनको भनाई थियो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले धरान उपमहानगरपालिकाको सबै भन्दा विकट वडा, सबै भन्दा टाढा रहेको वडामा प्रसुति सेवा केन्द्र भवन विस्तार गर्न सफल भएको उल्लेख गर्दै सबैलाई उपचार सेवा लिन आग्रह गरे । वडाध्यक्ष मणिराम राईले ५ वर्ष अघि धरानको विकट वडा विष्णुपादुकामा सुविधा सम्पन्न प्रसुति सेवा केन्द्र बनाउने प्रतिवद्धता पुरा भएको बताए । उनले आगामी दिनमा आवश्यकता अनुसार प्रसुति केन्द्रलाई व्यवस्थित बनाएर लैजाने पनि बताए । 

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरानको छाताचौक र विष्णुपादुकामा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको बताए । गर्भवती जाँच गर्न आएका महिलाको प्रसुति स्वास्थ्य सेवा केन्द्रमा निःशूल्क रुपमा उपचार गराईने पनि जानकारी दिए । गर्भवती महिलाले स्वास्थ्य प्रोटोकल अनुसार ८ पटकसम्म जाँच गराए वापत सरकारले ८ सय रुपैयाँ उत्प्रेरणा खर्च उपलब्ध गराउने जानकारी दिए । यस्तै, सुत्केरी हुन आएमा एक हजार रुपैयाँ नेपाल सरकारले उपलब्ध गराउने प्रावधान रहेको पनि मेहताले जानकारी दिए ।