धरान: आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदको उम्मेद्वारका ११ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने उपमेयर पदमा ६ जना आकांक्षीहरुको नाम सिफारिश गरेको छ । 

एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार आज बसेको उपमहानगर कमिटीको पुर्ण बैठकले मेयर पदमा आकांक्षी रहेका ११ जनाको नाम सिफारिश गर्ने निर्णय गरेको हो । सर्वसम्मत उम्मेदवारको नाम सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर जिल्ला कमिटीलाई सिफारिश गर्ने निर्णय भएको अध्यक्ष एभेङले जानकारी दिए । 

धरानको मेयरमा सिफारिश हुने उम्मेद्वारका आकांक्षीहरुमा मन्जु भन्डारी, मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्के रहेका छन् । एक नम्बरमा रहेकी मञ्जु भण्डारी केन्द्रीय कमिटी तथा धरानकी उपमेयर हुन् भने मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन् । उनीहरुलाई पनि प्रदेश कमिटीको सचिवालय र सदस्य मात्र भएको आधारमा क्रमसंख्या राखेर सिफारिश गरिएको हो । यस्तै, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला जिल्ला कमिटी सदस्य हुन् भने तीर्थ मास्के पुर्वजिल्ला कमिटी सदस्य हुन् । 

यसैगरि, उपमेयरमा आकांक्षी रहेका शुसिला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम पनि सिफारिश गर्ने निर्णय भएको छ । पहाडी र जिमी प्रदेश कमिटी सदस्य हुन् भने पदम इस्वो, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई जिल्ला कमिटी सदस्य हुन् । उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिश गरेको हो । जिल्ला कमिटीबाट प्रदेश कमिटी हुदै केन्द्रीय कमिटीमा उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश हुनेछ । जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम काँटछाँट गर्न सक्नेछ ।