धरानः धरानमा यही बैशाख ८ देखि १६ गतेसम्म बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार होटल पुर्वीस्टारमा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै खोप अभियानबारे जानकारी दिएको हो । महाशाखा प्रमुख उमेश मेहताका अनुसार १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार धरानमा ४४ हजार बढी बालबालिकालाई खोप लगाइनेछ । 

सरकारले २०७८ चैत २५ गतेदेखि २०७९ साल बैशाख १८ गतेसम्म एकैसमय, एकै चरणमा अभियान सम्पन्न गर्न लागेको छ तर, धरानमा भने बैशाख ८ गतेदेखि १६ गतेसम्म अभियान सञ्चालन हुने उनले बताए । लक्षित समुह ८० प्रतिशत विद्यालयमा रहने भएकोले विद्यालयमा खोप लगाइनेछ भने २० प्रतिशत विद्यालय बाहिर हुने भएकोले स्वास्थ्य संस्थाबाट खोप दिइने पनि उनले बताए । 

खोपबाट कोही पनि बालबालिका नछुटुन् भनेर सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिनेछ भने अभियानको क्रममा टाइफाइड प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ। यो रोगको सङ्क्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ । 

सरकारी तथ्याङ्कमा पछिल्लो पाँच बर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । तीन वर्षको तथ्याङ्कअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो। 

एक लाखमा करिब ११ हजारमा यो रोग लागेको पाइएको पनि उनले बताए । मृत्यु दर पनि धेरै देखिएको छ । मृत्यु नहुदा पनि यो रोगबाट आन्द्रामा घाउ हुने, प्वाल हुने, रगत निस्कने र क्यान्सर हुने गरेको छ । साथै, मस्तिष्कमा पनि असर गर्ने तथा सम्पुर्ण अंगहरु पनि फेल गराउने गरेको मेहताले जानकारी दिए । 

भिडियो: