धरान: चुनावी गठबन्धनको सहमतिको खाका बिहिबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक हुँदै गर्दा धरानका चार दलका नेता, कार्यकर्ताहरु उत्साहित थिए । 

झण्डै डेढ घण्टा ढिलो गरि शुरु भएको पत्रकार सम्मेलनमा वक्ता नेताहरुले गठबन्धनको औचित्य, आवश्यकतामाथि प्रकाश पार्दै प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन हुने धारणा व्यक्त गरिरहेका थिए । तर, केही बेरमा नै पत्रकार सम्मेलनको महोल वदलियो । गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेसका विभिन्न वडाका नेता, कार्यकर्ताहरु आक्रोशित हुँदै असन्तुष्टी प्रकट गर्न थाले । स्थिति असहज बन्यो, र बिचैमा पत्रकार सम्मेलन रोकियो । 

मेयर, उपमेयरसहित धरानको २० वटै वडा भागवण्डा गरेको ४ दलीय गठबन्धनलाई पहिलो दिनमै झट्का लाग्यो । कांग्रेस भित्रको असन्तुष्टी छताछुल्ल भएपछि प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेलाई खुशी बनाएको छ भने गठबन्धनका अन्य दलहरु भने सशंकित अवस्थामा छन् । गठबन्धनका अन्य दलहरुको मनस्थिति कस्तो छ भन्ने बुझ्न बिहिबार राती जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दिपक मेन्याङ्बोको फेसबुक स्टाटसले दर्शाउछ । 

नेता मेन्याङ्बोले कांग्रेसको आन्तरिक असन्तुष्टी र विरोध हेर्दा कांग्रेसको असहयोगको इतिहास दोहोरिने जिकिर गरेका छन् । उनले लेखेका छन्,‘यसरी गठबन्धनकको मर्मविपरीत आन्तरिक पार्टीभित्रको गिजलो बाहिर आएपछि पक्कै पनि मतदान विश्वाश्नियताको कमी हुनेछ, यस्तो दुष्परिणामयुक्त यात्राले कसलाई सघाउ पुर्याउछ, जसपाले अझै पनि समय पुर्याउदै होस पुर्याउनु उचित हुनेछ ।’ उनले गठबन्धनमा मतदान र जनमतको विश्वश्नीयताको बिषय गम्भीर बनेको र यसले के परिणाम आउछ भन्ने हेक्का पत्रकार सम्मेलनमा भएको हुलदंगाले प्रष्ट पारेको लेखेका छन् ।

के भन्छन् कांग्रेस नेता ?

नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङले शीर्ष तहबाट नै गठबन्धनको मोडालिटी र भागवण्डाको मापदण्ड तय भएकोले स्थानीयस्तरको पकडभन्दा बाहिर भएको बताए । केन्द्रीय तहमा भएको गठबन्धनको मोडालिटीकै कारण वलियो बनाएको वडा पनि कांग्रेसले छोड्नु परेको भन्दै उनले भने, ‘हामीले चाहेर यस्तो भागवण्डा भएको होइन, शीर्ष तहकै निर्णय हो ।’

नेता तामाङले गठबन्धनको मोडालिटीको कारण छोड्नु परेको विभिन्न ७ वटा वडामा समस्या देखिएको भन्दै स्थानीय नेता, कार्यकर्ताहरुसँग समझदारी गरेर असन्तुष्टी टुंग्याउने बताए । ‘हामी ७ वटै वडामा जान्छौ, र छलफल गछौ । के कारणले छोड्नुपरेको हो भनेर प्रष्ट पाछौ,’उनले भने,‘गठबन्धन दलहरुमा पनि छलफल गछौ ।’ उनले स्थानीयस्तरमा गठबन्धनको मोडालिटीबारे कुनै विकल्प निकाल्न सकिन्छ कि भनेर थप छलफल हुने पनि बताए । 

धरान र सुनसरी क्षेत्र नं १ मा कांग्रेसको संगठन वलियो भएकोले उम्मेदवारका आकांक्षीहरु बढेकोले वडाको नेतृत्व नपाउदा असन्तुष्टी बढेको नेता तामाङले बताए । उनले धरानको असन्तुष्टी प्रदेश र केन्द्रका नेताहरुसम्म पुर्याएको र चाडै समाधान हुने बताए ।