धरान: २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वडामा जितेको थियो । नगरसभामा रहने कुल १०२ जनप्रतिनिधिमध्ये ७२ जना एमालेबाट मात्र निवार्चित भएका थिए । 

निवार्चित भएर कार्यभार सम्हालेको एक बर्ष नबित्दै मेयर तारा सुब्बाको निधन भएको थियो भने झण्डै डेढ बर्ष उपमेयर मञ्जु भण्डारी सुवेदीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी थिइन् । २०७६ को उपनिर्वाचनमा भने कांग्रेसबाट मेयरमा तिलक राई विजयी भए । अहिले पुनः स्थानीय तह निर्वाचन संघारमा आइसकेको छ । बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा जनप्रतिनिधिहरुको ५ बर्षे कार्यकालको लेखाजोखा पनि भइरहेको छ । कतिपय जनप्रतिनिधिहरुको प्रशंसा पाइरहेका छन् भने कतिको तीब्र आलोचना भइरहेको छ । 

धरानमा ५ बर्ष जनप्रतिनिधिहरुले के गरे ? उनीहरुको कार्यकालमा के उपलब्धी भयो ? मिडियादेखि आमजनताहरुमाझ चर्चा भइरहेको छ । आज शुक्रबार भने नेकपा एमालेको धरानमा निर्वाचन परिचालन मुल कमिटी घोषणा कार्यक्रममा उपमेयर तथा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीले धरानमा आफुहरु एमालेतर्फबाट निवार्चित भएपछिको उपलब्धीहरु सार्वजनिक गरिन् । साथै, उपनिर्वाचनबाट मेयरमा कांग्रेसबाट तिलक राई मेयर भएपछि विकासको गतिमा अवरोध भएको भन्दै विभिन्न बुँदाहरु पनि आरोपसहित सार्वजनिक गरिन् । 

के के छन् उपलब्धी ?

उपमेयर भण्डारीले लामो समयदेखि विवादले अलपत्र गरेको धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजना क्षेत्रमा स्मार्ट बसपार्क शुरुवात हुनुलाई महत्वपुर्ण उपलब्धीकोरुपमा प्रस्तुत गरिन् । उनकै पहलमा विवाद समाधान भएको र २०८० सालमा निर्माण कार्य पुरा हुने गरि २५ करोड लागत अनुमानमा बसपार्क निर्माण कार्य भइरहेको उनले बताइन् । संघीय सरकारबाट पुरक बजेट पनि आफ्नै पहलमा आएको उनले दाबी गरिन् । यस्तै, धरान ६ स्थित पानवारीमा औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको निर्णय गराएर बजेटसमेत व्यवस्थापन गरिएको उनले बताइन् । 

भिडियो: उपमेयर भण्डारीले खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा मर्ज गराएको र पानी आपूर्ति सहज र पर्याप्त बनाउन थप वेल निर्माण गरिएको पनि दाबी गरिन् । एमाले नेतृत्व सरकार हुदा नै संघीय सरकारको खानेपानी मन्त्रालयबाट वडा नं ४, ५, ६ र २०, १३, १४ र १७ वडामा पनि खानेपानी वितरण तथा व्यवस्थापन गर्न परियोजना स्वीकृत गराएको र डिपिआरको चरणमा पुर्याएको पनि उपमेयर भण्डारीले दाबी गरिन् ।

यसैगरि, धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रमा भइरहेको अतिक्रमणलाई बन्द गराएर व्यक्तिको नाममा रहेको १५८ बिगाह जग्गा नेपाल सरकारको नाममा ल्याउन सफल भएको पनि उनले बताइन् । साथै, बाँकी अतिक्रमित जग्गा पनि फिर्ता लिने प्रक्रियामा रहेको उनले सुनाइन् । 

शिक्षातर्फ धरानका सबै सामुदायिक विद्यालयहरुलाई भौतिक संरचना र प्राविधिकरुपले सम्पन्न बनाएको उपमेयर भण्डारीले बताइन् भने स्वास्थ्यतर्फ धरानलाई पुर्णखोपयुक्त नगरी घोषणा गरिएको, वडास्तरसम्म आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रवाह गरिएकोलगायत उपलब्धीहरु पनि सुनाइन् । 

सुशासनतर्फको उपलब्धी :

उपमेयर भण्डारीले आवश्यक पर्ने १२ वटा ऐन, ११ वटा नियमावली, ३ वटा निर्देशिका र १९ वटा कार्यविधि तयार गरि लागु गरिएको पनि बताइन् । कर भुक्तानी प्रणालीलाई वडा कार्यालय एवं अनलाइन प्रणाली शुरु गरिएको छ भने हाल आएर ३ सय बढी करदाताहरुले यो प्रणाली अबलम्बन गरिरहेको पनि उनले बताइन् । 

नगरको आन्तरिक आम्दानी ८ करोडबाट २२ करोड पुर्याइएको, सबै वडाहरुलाई एकीकृत सुचना प्रणालीमा आवद्ध गरिएको र वडास्तरमा सेवा सुविधा विकेन्द्रीत गरि सहज र सरल बनाइएको पनि उपमेयर भण्डारीले दाबी गरिन् । यस्तै, न्यायिक समितिको प्रभावकारी सञ्चालनको लागि नगरपालिकामा इजलाशको व्यवस्था गरिएको र न्याय सम्पादनमा धरान उपमहानगरपालिकाले उत्कृष्ट नतिजा दिन सफल भएको पनि उनले बताइन् । 

उपमेयर भण्डारीका अनुसार नगरपालिकामा आएका २५९ वटा मुद्दा मध्ये ९६ वटा मेलमिलाप गरिएको छ भने ६६ वटा निर्णय र २७ वटा फिर्ता लिइएको छ । बाँकी ४१ वटा मुद्दा भने अदालत पठाइएको पनि भण्डारीले जानकारी दिइन् । 

इष्ट टुरिज्म मार्टदेखि एक वडा एक पार्कको अवधारणा

manju-bhandari-

उपमेयर भण्डारीले धरानको पर्यटनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा लिंकेज गराई इष्ट टुरिज्म मार्ट धरानमा नै गर्ने नीतिगत व्यवस्था गरिएको पनि बताइन् । होम स्टे प्रर्वद्धन नीति अनुसार धरान २० माछामारा र चिण्डेडाँडा क्षेत्रमा, धरान ४ देवीथानलगायतमा गरि २० वटा होम स्टे सञ्चालनमा रहेको बताइन् । 

यस्तै, एक वडा एक पार्कको अवधारणा अनुसार विभिन्न वडामा पार्क निर्माण कार्य भइरहेको छ भने विभिन्न योजनाहरुको डिपिआर निर्माण भएको र निर्माणको चरणमा रहेको पनि बताइन् । यसैगरि, उपमेयर भण्डारीले खेलकुद, भाषा साहित्य कला सँस्कृति, सफा र फुलबारीको सहरकोरुपमा अघि बढाउन पनि भएका उपलब्धीहरु प्रस्तुत गरिन् । 

उपमेयर भण्डारीले केन्द्रीय बजेटसँग धरान जोड्न सफल भएको दाबी गरिन् भने नगर गौरवको ठुला आयोजनाहरुलाई बहुबर्षिय योजनामा रुपान्तरण गरेर निर्माण गरिएको पनि बताइन् । नयाँ अवधारणा अनुसार विभिन्न वडामा पर्ने खहरे खोलाहरुका किनारमा खहरे करिडोर निर्माण शुरुवात गरिएको पनि बताइन् । यस्तै, धरान १७ रेल्वे, धरान १३ फुस्रे चोक र धरान १४ विजयपुर चोक जस्ता ऐतिहासिक चौकहरुको सौन्र्दयीकरण भइरहेको पनि बताइन् । 

'उपनिर्वाचनबाट कांग्रेसको मेयर आएपछि गतिरोध' 

cpn-dharan8,

उपमेयर भण्डारीले उपनिर्वाचन पछि कार्यकारी नेतृत्व कांग्रेसको हातमा पुगेपछि धरानमा विकासको गति रोकिएको आरोप लगाइन् । मेयर तिलक राईले थुप्रै विकासको काम र योजनाहरु अलपत्र पारेको उनले बताइन् । 

उपमेयर भण्डारीका अनुसार धरान ३ स्थित पालिका बजारको लागि बजेट स्वीकृत भएर निकासा भएको १ करोड ६२ लाख रकम कामै नगरि फ्रिज गराइएको छ । हाल व्यापारीहरुसँग विवादित सम्झौता गरि टहरा निर्माण गरिएको उनले बताइन् ।

कर घटाउने मेयरको नारा केवल नारामा नै सिमित भएको दाबी गर्दै उपमेयर भण्डारीले मेयरको उदासिनताको कारण उल्टै आन्तरिक आम्दानी घटेको दाबी गरिन् । आफु कार्यवाहक मेयर हुँदा थपिएको २ वटा वेल विवादित भएको भन्दै मेयर राईले नचलाएर दैनिक ४० लाख लिटर पानी उत्पादन भएर थन्किएको दाबी गरिन् । 

नगरपालिका एमालेको भर्ति केन्द्र भयो भन्दै चुनावी भाषण गर्दै आएका मेयर राईले सविचालयमा ८ जना नियुक्ती गरेको पनि उपमेयर भण्डारीले दाबी गरेकी छिन् । जबकी मेयर तारा सुब्बाको पालामा सचिवालयमा २ जनाबाट मात्र सञ्चालन भएको उनले बताइन् । 

खानेपानी बोर्डको बैठक डेढ बर्षदेखि बस्न नसकेको र बोर्डबाट नगरपालिकामा आउनुपर्ने अनुमानित बार्षिक १० करोडमा हालसम्म १ रुपैया पनि दाखिला नभएको भण्डारीको आरोप छ । साथै, विना प्रतिस्पर्धा ३० जना भन्दा बढी कार्यकर्तालाई कर्मचारी बनाइएको र कर्मचारीको अक्षमताकै कारण वितरणमा समस्या भएको पनि उपमेयर भण्डारीले बताइन् । 

उपमेयर भण्डारीले प्रस्तुत गरेको उपलब्धीहरु (PDF File):