धरान : धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबार बिहानदेखि मात्र हुने भएको छ । 

धरानस्थित निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहने भएकोले शनिबार बिहानदेखि मात्र मतगणना कार्य शुरु हुने जानकारी दिए । उनका अनुसार बिहिबार भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकले पनि शनिबार बिहान ८ बजेदेखि मात्र मतगणना शुरु गर्ने निर्णय गरेको हो ।

‘मतपेटिका जिम्मा लिने काम भइरहेको छ । मतगणना भोली (शनिबार) बिहानदेखि मात्र शुरु हुन्छ, यो हिजो (बिहिबार)कै निर्णय हो,’ नेपालले भने । निर्वाचन अधिकृत नेपालले बिहान ७ बजे उम्मेद्वार, राजनीतिक दलहरुलाई बोलाएको पनि जानकारी दिए । 

कति खस्यो मत ?

election-dharan9

धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । ती मध्ये कति मत खस्यो ? शुक्रबार राती १० बजेसम्म पनि निर्वाचन अधिकृतको कार्यालयले सही विवरण उपलब्ध गराउन सकेन ।

मतदानस्थलबाट मतपेटिका संकलन र भण्डारणमा समय लागिरहेको र मतदान अधिकृतहरुबाट तथ्यांक लिन समय लागेकोले यथार्थ संख्या उपलब्ध गराउन ढिलाई भएको अधिकृत नेपालले बताए । निर्वाचन कार्यालयले खसेको मत आधिकारिकरुपमा उपलब्ध नगराए पनि राजनीतिक दलका नेता, कार्यकर्ताहरुले भने सामाजिक सञ्जालमार्फत धरानमा खसेको मत सार्वजनिक गरिरहेका छन् । 

सञ्जालमा सार्वजनिक भएको संख्यामा पनि एकरुपता छैन । यद्यपी, धरानमा ६२ हजार हाराहारीमा मत खसेको देखिन्छ । यो आधारमा धरानमा ६२ प्रतिशत मत खसेको अनुमान लगाउन सकिन्छ । 

dharan-voting