धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राई र वहालवाला ७ जना वडाअध्यक्षको कार्यकाल पनि सकिएको छ ।

कानुनीरुपमा जेठ ५ गते मध्यराती १२ बजे स्थानीय तहमा निवार्चित जनप्रतिनिधिहरुको कार्यकाल सकिने भएपछि दिउँसो मेयर राईसहित वडाअध्यक्षहरुले विदाई लिएका छन् । स्थानीय तह निर्वाचनको मतदान भएर मतगणना पनि जारी रहेकोले अब नयाँ आउने जनप्रतिनिधिहरुको लागि मेयर पदसहित कुर्सी खाली भएको घोषणा पनि गरिएको छ । मेयर राईले विदाई ज्ञापन कार्यक्रम आयोजना गर्दै धरानमा जनप्रतिनिधिहरु खाली भएको घोषणा गरेका हुन् ।अब नवनिर्वाचित जनप्रतिनिधिहरुले पद बहाली नगरेसम्म शुक्रवारदेखि उपमहानगरपालिकाको दैनिक काम कार्बाही कर्मचारीहरुबाट सञ्चालन हुनेछ ।

चुनावमा प्रत्यासी हुन राजिनामा दिएका बाहेक बहाल रहेका ७ जना वडाध्यक्षहरुले पनि बिहिबारदेखि नै उपमहानगर कार्यपालिकाबाट विदाई लिएका छन् । निर्वाचन आयोगले २०७४ सालको चुनावमा निवार्चित स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने जानकारी गराएको थियो । सोही अनुसार विदाई ज्ञापन गरिएको मेयर राईले बताए । ‘हामी बहाल रहेकाहरुले नयाँ नगर प्रमुख, उपप्रमुख र निर्वाचित जनप्रतिनिधिहरुलाई पद बहाल गराई विदा लिने सोचेका थियौं तर नियमले त्यसो गर्न दिएन,’उनले भने ।

मेयर राई २०७६ मंसिर १४ को उपनिर्वाचनबाट निवार्चित भएका थिए । २०७४ मा निवार्चित भएका मेयर तारा सुब्बाको बर्ष दिनमा निधन भएको थियो । डेढ बर्ष निवर्तमान उपमेयर मञ्जु भण्डारीले कार्यवाहक मेयर चलाएकी थिइन् । कार्यपालिकामा दुई तिहाई भन्दा बढी विपक्षी दलको बहुमत भएपनि सहमति र सहकार्य गरेर नै काम गरेको राईले बताए । उनले आफ्नो कार्यकाल नयाँ आउने जनप्रतिनिधिहरुको लागि उदाहरणीय विषय बन्न सक्ने पनि उनले बताए । ‘सहमति सहकार्य नभए धरानको विकास र निर्माण कार्यहरु अवरुद्ध हुन्छ, र धरान पछि पर्ने अवस्था आउन सक्छ,’उनले भने । 

अल्पकालिन कार्यकालको कारण खानेपानी जस्तो धरानको मुख्य योजनालाई पूर्णता दिएर समस्या समाधान गरेर देखाउने अवसर नपाएको पनि राईले बताए । ‘पाँच वर्षको पुरा अवधी काम गर्न पाएको भए, उपमहानगरपालिकाले अघि बढाएको प्रायः सबै योजनाहरु परिणाममुखी अवस्थामा पुर्याउन सकिन्थ्यो भन्ने अहिले मलाई लागेको छ,’उनले भने । दिवंगत तारा सुब्बाको कार्यकालमा कानुनहरु बनाउने केही कामहरु भएको उल्लेख गर्दै उनले तत्कालै उपनिर्वाचन भएर निवार्चित भई आउन पाएको भए खानेपानीको काम पुरा गर्न सकिने बताए । 

मेयर राईले आफ्नो कार्यकालमा भ्रष्टाचार रोक्ने, विकास निर्माणका योजनाहरु लागत स्टीमेट भन्दा घटीमा सम्पन्न गर्ने, ठेक्का लगाउने काम भएकोले अनियमितताका गन्धसम्म नआएको कुरा सन्तोषको विषय भएको दाबी गरे । लामो समय विवाद र बजेटको अभाव भई रोकिएको बसपार्कको योजना परिमार्जन गरेर भएपनि कार्यान्वयनमा ल्याउनु महत्वपुर्ण कार्य भएको उनले बताए । 

एयरपार्टको कुरा भने पटक पटक उठाएर धरानबासीलाई भ्रममा राख्न नहुने पनि उनको भनाई छ । मेयर राईले भने, ‘सरकारको नीति निर्माण तह यो एयरपोर्टका विपक्षमा छ, त्यस्मा बल गर्नु जनतालाई भ्रममा राख्नु मात्र हुनेछ ।’ आफुले इमान्दार, परिणाममुखी काम गर्ने नगर प्रमुखको रुपमा काम गरेको जिकिर गर्दै उनले नगरको अनुभव अझै पनि धरानको विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विदाई ज्ञापन कार्यक्रममा धरान–२ का निवर्तमान वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ, वडा नं. ११ का बाबुलाल लामा, कार्यपालिका सदस्य हिरादेवी राई, सल्लाहकार आनन्द आचार्य लगायतले अनुभव सुनाएका थिए । सोही अवसरमा उपमहानगरबाट धरानको इतिहास र वर्तमान झल्काउने विभिन्न पक्षमा प्रकाश पारिएका खोजमुलक लेखहरुको पुस्तक ‘धरान निरुपण’ मेयर राई र पुस्तकका प्रधान सम्पादक प्रा.डा. टंकप्रसाद न्यौपानेले विमोचन गरेका थिए ।