धरान: नेकपा एमालेकी नेतृ एवं मेयर उम्मेद्वार मञ्जु भण्डारीको गृह वडा हो, धरान १५ । 

जो कोहीलाई पनि आफ्नो वडाबाट धेरै मत आउने अपेक्षा गरिन्छ । तर, बैशाख ३० गतेको निर्वाचन मतपरिणाम आउदै गर्दा उम्मेद्वार भण्डारीको लागि आफ्नै वडाको पनि प्रारम्भिक मतपरिणाम निराशाजनक छ ।

निर्वाचन अधिकृतको कार्यालयले ६ सय मतगणनाको नतिजा सार्वजनिक गर्दा भण्डारीले मात्र १०२ मत प्राप्त गरेकी छिन् । वडा १५ मा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २६३ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेद्वार किशोर राईले १२१ मत प्राप्त गरेका छन् । 

उपमेयरतर्फ भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा २२९ मत प्राप्त गरेका छन् । वडा १५ उनको पनि गृह वडा हो । एमाले उम्मेद्वार पदम इस्वोले १५२ मत प्राप्त गरेका छन् । 

यस्तै, वडाअध्यक्षमा एमालेका उम्मेद्वार नरेश इवारमले २७५ मत ल्याएर अग्रता कायम राखेका छन् भने गठबन्धनका उम्मेद्वार सुवास खवासले मात्र ८२ मत प्राप्त गरेका छन् । धरान १५ मा धेरै मतदाता भएको वडा हो ।