धरान: धरानमा ३७ हजार बढी मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई ११ हजार बढी मत प्राप्त भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान साढे ९ बजेसम्म ३७ हजार ९५७ मत गणना भएको जानकारी दिएको छ । यो मतगणना हुँदासम्म स्वतन्त्र उम्मेद्वार साम्पाङले ११ हजार ४८० मत प्राप्त गरेका छन् । उनी गठबन्धनका उम्मेद्वार किशोर राई भन्दा १ हजार ८८ मतले अगाडि छन् । राईले १० हजार ३९२ मत प्राप्त गरेका छन् ।

मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारी ८ हजार ४६८ मतका साथ तेस्रो स्थानमा छिन् । उनी साम्पाङभन्दा ३ हजार १२ मतले पछाडि छिन् भने गठबन्धन उम्मेद्वार राईसँग १ हजार ९२४ मतले पछि परेकी छिन् । 

यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा ५३६ मतले अग्रता कायमै राखेका छन् । उनले ११ हजार ९३८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ११ हजार ४०२ मत प्राप्त गरेका छन् । 

हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ । वडा नं २० को दस्तखत विनाको मतपत्रको विवादले अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । वडा नं १५, १६ र १७ को मतपेटिका खोलिएको छैन ।

data 2