धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राईलाई १२९७ मतको फराकिलो अन्तरले पछि छोडेका छन् ।

शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मतगणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । गठबन्धनका उम्मेद्वार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ८७३९ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले १२ हजार ३७६ मत प्राप्त गरेका छन् भने पदम इस्वोले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । बेघा ६११ मतले अगाडि छन् ।

हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ । वडा नं ११ को ३५०० मतगणना भइसक्दा वडाअध्यक्षमा कांग्रेसको उम्मेद्वार लोकेन्द्र फागो ९४१ मत प्राप्त गरेर अगाडि छन् भने एमालेबाट वडाअध्यक्षका उम्मेद्वार किरण राईले ८९३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका जितराज राईले ५५२ मत प्राप्त गरेका छन् ।

यसैगरि, वडा नं १३ को २ हजार मतगणना सकिदा वडाअध्यक्षमा एमालेका नेत्र काफ्ले ८५० मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने गठबन्धनबाट वडाअध्यक्ष उम्मेद्वार पेम्बा तामाङले ६२३ मत प्राप्त गरेका छन् । यस्ते, वडा नं १४ को १८०० मतगणना सकिदा राप्रपाका वडाअध्यक्ष उम्मेद्वार कृष्णप्रसाद भट्टराईले ७९० मत प्राप्त गरेर अगाडि छन् । एमाले उम्मेद्वार उत्तम आले ५६७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वार श्याम श्रेष्ठले २५५ मत प्राप्त गरेका छन् ।

धरानको वडा नं २० को दस्तखत विनाको मतपत्रको विवादले अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । वडा नं १५, १६ र १७ को मतपेटिका खोलिएको छैन ।