धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै जारी सेभ घोपा अभियान आन्दोलन हिजो सोमबार ५६ औं दिनमा वार्ता भएर सहमति भएको छ। 

धरानका मेयर हर्कराज राई (साम्पाङ) को बिशेष पहलमा राती अबेरसम्म भएको वार्तामा समस्या सुपरीवेक्षण गर्न र यथासीघ्र समस्या समाधान गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । सहमति वमोजिम कार्यदल गठन भइसकेको जानकारी प्रतिष्ठानले दिएको छ । 

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका अनुसार कार्यदलमा प्रतिष्ठानको तर्फबाट इन्टरनल मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा.दिव्यराज मिश्रा र अस्पताल प्रशासनका सुपरभाइजर अशोककुमार साह रहेका छन् । सेभ घोपा क्याम्पकोतर्फ नविन राई र स्पेन मगर कार्यदलको सदस्य छन् भने मेयरको प्रतिनिधिकोरुपमा पुर्ण गहतराज रहेका छन् । 

कार्यदलले तत्काल अस्पताल सेवामा गर्न सकिने सुधार कार्यहरु १५ दिनभित्र गर्ने र बाँकी कार्यहरुको सम्बन्धमा विभिन्न विभाग, शाखाहरुसँग आवश्यक छलफल एवं परामर्श गरी कार्यान्वयनको लागि सिफारिश सहितको प्रतिवेदन पेश गर्ने म्याण्डेट दिइएको छ। 

bp