धरान: वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओ.पी.डी. टिकट काट्ने समय परिवर्तन भएको छ ।

बिहान ८ बजेदेखि मात्र ओपिडी काउन्टर खुल्ने गरेको थियो । विरामीहरुको सुविधालाई ध्यान दिदै साढे ७ बजेदेखि नै काउन्टर खुल्ने निर्णय भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ‘यसअघि ओ.पी.डी. काउण्टर विहान ८ः०० बजेदेखी खुल्ने गरेकोमा विरामीहरुको सुविधालाई ध्यानमा राखेर अबदेखि ७ः३० बजेदेखी नै काउण्टर खुल्ने व्यवस्था गरिएको छ,’सहप्रवक्ता डा.पोखरेलले भने । सहप्रवक्ता डा.पोखरेलका अनुसार काउण्टर विहान ७ः३० बजेदेखी १२ः०० बजेसम्म खुल्नेछ र दिउँसो भने पुरानै समय २ बजेदेखि ३ बजेसम्म खुल्नेछ ।

घोपा बचाउ अभियानले झण्डै २ महिनादेखि प्रतिष्ठानको उपचार सेवा सुधार गर्न आन्दोलन गरेको थियो । उक्त आन्दोलन चर्किएपछि कार्यदल गठन गरिएको थियो । कार्यदलले प्रतिवेदन पनि बुझाई सकेको छ । कार्यदलले तत्काल १५ दिनभित्र सुधार गर्नुपर्ने, मध्यकालिनरुपमा गर्नुपर्ने र दीर्घकालिनरुपमा गर्नुपर्ने सुधारहरुलाई बुँदागतरुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैअन्तर्गत तत्काल सुधार गर्नुपर्ने कामहरुलाई प्रतिष्ठानले अघि बढाएको हो । 

विपन्न नागरिक सुविधाको औषधी प्रतिष्ठानबाटै खरिद गर्नुपर्ने 

नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गत मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाईमर, मृगौला रोगका विरामीहरुले वीपी प्रतिष्ठानमा उपचार गर्ने क्रममा चिकित्सकले लेखेको औषधी अबदेखि अनिवार्यरुपमा प्रतिष्ठानकै फार्मेसीबाट खरिद गर्नुपर्ने भएको छ ।

प्रतिष्ठानका अनुसार असार १ गतेदेखि लागु हुने गरि यस्तो निर्णय भएको हो । यसरी प्रतिष्ठानको फार्मेसीबाट खरिद गरेवापत प्राप्त हुने बिलविजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराएर शोधभर्नाको लागि दाबी गर्नुपर्ने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । कारणवश प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधी तथा औषधीजन्य सामग्री उपलब्ध हुन नसके अधिकारप्राप्त फार्मेसीको कर्मचारीबाट प्रमाणित गराएर बाह्य फार्मेसीबाट खरिद गरेको भएमात्र शोधभर्ना दाबी गर्न पाउने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।

प्रतिष्ठानको फार्मेसी पुर्णरुपमा संचालनमा आईसकेको र अन्यत्रभन्दा सहुलियत दरमा औषधी तथा औषधीजन्य सामाग्रीहरु उपलब्ध भएको पनि सहप्रवक्ता डा.पोखरेलले बताए । यसअघि, प्रतिष्ठानको फार्मेसी सञ्चालनमा नआउदा नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गतको उपचारको औषधी तथा औषधीजन्य सामग्रीहरु बाहिरको औषधी पसलबाट खरिद गर्दा बिल शोधभर्नाको लागि सिधै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएको थियो ।