धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ब्लड बैंक पुर्णरुपमा सञ्चालनमा आएको जनाएको छ । 

प्रतिष्ठानको प्याथोलोजी विभाग अन्तर्गत सञ्चालित ब्लड बैंक असार २ गतेदेखि पुर्णरुपमा सञ्चालनमा आएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार यो बैंकबाट विरामीलाई पिसिभी (प्याक्ड सेल भोलुम, पिआरपि (प्लेटलेट रिच प्लाज्मा), एफएफपि (फ्रेस फ्रोजन प्लाज्मा) जस्ता सेवाहरु उपलब्ध हुनेछ । 

रक्त अल्पता भएका र डायलाइसिस गर्नुपर्ने विरामीहरुको लागि पिसिभी सेवा दिइने प्रतिष्ठानले जनाएको छ । यस्तै, डेंगु र अन्य विभिन्न कारणले प्लेटलेट कम भएका विरामीहरुको लागि पिआरपि सेवा आवश्यक पर्छ । यसैगरि, कलेजोका विरामी र अनय कारणले कोगुलेसन फ्याक्टर डिफिसिएन्सी (Coagulation Factor Deficiency) भएका, ओपन हर्ट सर्जरी, बर्न केसमा आवश्यक पर्ने एफएफपि सेवा  पनि उपलब्ध भएको सहप्रवक्ता डा.पोखरेलले बताए । 

७ दिने योग शिविर सञ्चालन हुने

अन्तराष्ट्रिय योग दिवस (२१ जुन) को अवसरमा वीपी प्रतिष्ठानमा ७ दिने योग शिविर हुने भएको छ । तनाव व्यवस्थापनको लागि योग भन्ने उद्देश्य राखेर शिविर आयोजना हुन लागेको प्रतिष्ठानले जनाएको छ ।

योगा एण्ड लाइफस्टाइल क्लिनिक, बेसिक एण्ड क्लिनिकल फिजियोलोजी विभागले शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी र तिनका परिवारको लागि आयोजना गर्न लागेको विभागीय प्रमुख प्रा.डा.दिलिप ठाकुरले जानकारी दिए । शिविरको उद्घाटन मंगलबार बिहान साढे ५ बजे प्रतिष्ठानको अतिथि गृहको परिसरमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीबाट हुने पनि उनले बताए ।

शिविर जुन २७ बिहान ६ बजेदेखि ७ बजेसम्म सोही स्थानमा हुनेछ । उक्त शिविरमा विभाग अन्तर्गतको योगा एण्ड लाइफस्टाइल क्लिनिकका योग प्रशिक्षक नविन काफ्लेबाट प्रशिक्षण दिइने पनि ठाकुरले जानकारी दिए ।