धरान: सप्तकोशी अत्यधिक बालुवा बगाएर ल्याउने नदीमा पर्छ । यही नदीबाट धरानका मेयर हर्कराज राई (साम्पाङ)ले पानी ल्याएर काकाकुल धरानबासीको तिर्खा मेट्न चाहन्छन् ।

कोशीको पानी ल्याउने उनको चुनावी एजेण्डा नै थियो । अहिले संघीय सरकारको खानेपानी मन्त्रालयले कोशीबाट पानी धरान ल्याउने योजनाको लागि डिपिआर तयार गरिरहेको छ । धरानमा के हल्ला छ भने अत्यधिक बालुवा बोकेर ल्याउने भएकोले सुद्धिकरण गरेर कोशीको पानीलाई पिउन योग्य बनाउन गाह्रो छ । त्यसैले कोशीको पानी धरान ल्याउने योजना सम्भव छैन । तर, सरकारले नै यसअघि सम्भाव्यता अध्ययन गरेपछि अहिले डिपिआर तयारीको चरणमा छ ।

डिपिआरको लागि आएका बिशेषज्ञ ईञ्जिनियर डा.चेतबहादुर परियारसँग यही प्रश्न गर्दा उनले कोशीको पानी सुद्धिकरण गरेर धरान सजिलै लैजान सकिने बताए । इजराइल, साउदी अरब र कोरियाले समुन्द्रको नुनिलो पानी प्रेसेसिङ गरेर उपभोग गरिरहेको उदाहरण दिदै बिशेषज्ञ डा.परियारले भने,‘त्यो काम हामीलाई छोडिदिनुस् ।’

koshi-water1

डा.परियारका अनुसार डिपिआर सकिएपछि बजेटको व्यवस्थापन भएमा २, ३ बर्षमा नै कोशीको पानी धरान ल्याउन सकिन्छ । बर्षाको बेला मात्र ४ महिनाको समय धमिलो पानी आउने र त्यसलाई राम्रो प्रोसेसिङ गरेर पिउन योग्य बनाउने उनले बताए । ‘हाम्रो ज्ञान र अनुभवलाई सदुपयोग गछौं । समुन्द्रको नुनिलो पानीलाई प्रोसेसिंग गरेर साउदी अरब, इजराइल र कोरियाले खाइरहेको छ । यहाँ मात्र ४ महिना धमिलो हुन्छ, बालुवा बढी छ,’ डा.परियारले भने,‘यसलाई पहिला जाली राख्छौ, त्यसपछि स्रोत नजिकै रफिङ फिल्टर राखिदिन्छौ । त्यसपछि सेडिमेन्टेसन ट्यांक राखिदिन्छौ, सेनिमेन्टेसन छिटो होस् भनेर एलर्म जोडिराखिदिन्छौ ।’

डा. परियारका अनुसार त्यसपछि र्यापिड स्याण्डफिल्ट हुन्छ । त्यसले सफा गर्ने काम भइरहन्छ । त्यसपछि सफा पानीमा क्लोरिनेसन गरेर ब्याक्टेरियाहरु मार्ने र मात्र पिउन योग्य पानी धरान सप्लाई गर्ने उनले बताए । ‘सफा गर्ने काम हामीलाई छोडिदिनुस् । दुई स्टेजको सेनिमेन्टेसन ट्यांक राख्नसक्छौ । ३ स्टेजमा राख्न सक्छौ । रफिङ फिल्टर राख्नसक्छौ, फेरि र्यापिड सेण्डफिल्टर राख्नसक्छौ । त्यो हाम्रो कुरा हो,’डा.परियारले भने,‘हामी आइरन हटाउन सक्छौ, आर्सेनिक हटाउन सक्छौ । यो बालुवा हटाउने कुरा त सजिलो हो । केमिकल हटाउन गाह्रो छ, अर्गानिक चिज हटाउन गाह्रो छ । यो हटाउन त सजिलो छ ।’

 डा.परियारका अनुसार डिजाइन ३० बर्षको हुनेछ तर यसले ६० बर्षसम्म धान्नेछ । सबै कोणबाट सोच विचार गरेर डिजाइन गर्ने पनि उनले बताए । ‘ठेकेदार राम्रो भयो भने अपरेशन राम्रो भयो भने राम्रो हुन्छ । अपरेशन गर्ने काम मेयरसाबको प्रशासन र कस्ता मान्छे पर्छन्, त्यसमा भर पर्छ,’डा.परियारले भने ।

धरानको लागि गुड न्युज हो: मेयर

harka-sampang-ji

मेयर हर्क साम्पाङले डिपिआर सकिएपछि निर्माण शुरु भएको ३ बर्षभित्र कोशीको पानी धरान ल्याउन सकिने बिशेषज्ञहरुको भनाईपछि गुड न्युज भन्दै खुशी व्यक्त गरेका छन् ।

परामर्शदाता तथा बिशेषज्ञ टोलीसहित चतरा पुगेका मेयर साम्पाङले कोशीबाट पानी धरान नलगेसम्म स्थायी समाधान नहुने पनि बताए । उनले भने,‘तीन बर्षभित्र कोशीको पानी धरान पुर्याउन सक्छौं भन्ने छ, यो धरानको लागि यो गुण्ड न्युज हो ।’

चन्द्रमामा पुग्न सकिने, मंगल ग्रहमा बस्ती बसाउन सकिने कुरामा आफुलाई विश्वास लाग्ने भएकोले कोशीको पानी धरान लगेर पिउन सकिन्छ भन्नेमा पनि आफु ढुक्क भएको मेयर साम्पाङले बताए । उनले भने,‘म एकदमै आशावादी छुँ, जनतालाई पनि आशावादी हुनुस् भन्न चाहन्छुँ ।’

अध्ययन सकिएपछि पनि सरकारलाई आफु निरन्तर ताकेता गर्ने र सर्वे सकेर चपु लागेर बस्यो भने धर्नामा बस्ने पनि उनले बताए । सर्वदलीय, सर्वपक्षीय र सबै सरोकार राख्नेहरुसँग मेयर साम्पाङले आग्रह गर्दै भने,‘यो आयोजनालाई सबैले सकेको सहयोग गरौ, केही गर्न नसके पनि गुड जब भनौं । काम गर्न र गराउनलाई नैतिक साथ चाहिन्छ ।’

भिडियो:

भिडियो:

भिडियो: