धरान: पकुवा खोलाबारे दुई साता अघिसम्म अधिकांश धरानेहरु नै अनभिज्ञ थिए । धरानको वडा नं २०, विष्णपादुकाबासी र पकुवाको पानी ल्याएर पिउने वडा ११, १७ तिरका मानिस अनि उहिल्यै सानोमा पौडी खेल्न पुग्नेबाहेकलाई पकुवा खोला कता पर्छ भन्ने थाहै थिएन ।

हिजो आज भने पकुवा खोला भाइरल छ । सामाजिक सञ्जाल फेसबुक, युट्युबतिर पकुवा पुग्ने, विरुवा रोप्ने, ढुंगा ओसार्ने, पाइप ओसार्नेलगायत काम गरेको भिडियो र तस्बिर छाएको छ । जसले गर्दा धरानमा भएकाहरु मात्र होइन, धरान बाहिर र विदेशमा रहेका नेपालीहरुले पनि पकुवा किन भाइरल छ, त्यहाँ के भइरहेको छ भन्ने अहिले बुझिसकेका छन् ।

pakuwa

युवायुवती, महिला, वृद्धवृद्धा सबै पकुवा पुगेका छन् । यसको श्रेय जान्छ, धरानका मेयर हर्क साम्पाङलाई । उनैले पकुवा खोलाबाट थप पानी धरानको वडा ११, १७ मा ल्याउने योजना बनाए । योजना कार्यन्वयनको लागि युवाहरुलाई श्रमदान गर्न आह्वान गरे, र आफै पनि सहभागी भए । यसले आम धरानेहरुमा उत्साह छायो । शनिबारको विदाको दिन त त्यहाँ पाइला टेकिनसक्नु घुँइचो हुन्छ । 

धरानेहरु आफैले पाइप बोके, गैती र बोल्चाले इन्टेक र कलेक्सन च्याम्बरको लागि खाल्डो खने । ढुंगा बोके, सिमेन्टी र बालुका बोके, आफै बालुवा चाले, ढुंगा फोडेर गिट्टी बनाए । मसला तयार गरेर टंकी पनि बनाए । जलाधार क्षेत्रलाई जोगाउन विरुवा आफैले लगेर रोप्ने काम पनि गरिरहेका छन् । विदेशमा भएकाहरुले खाजाको लागि सहयोग पठाइरहेका छन् ।

pakuwa4

पकुवा खोला पुग्नेहरु सबै काम गर्न गएका मात्र हुदैनन् । जो वृद्धवृद्धाहरु छन्, उनीहरु पकुवामा के काम भइरहेको छ भनेर हेर्न पनि पुग्छन् । जस्तो हिजो शनिबार पकुवा पुगेका वृद्धहरु ७९ बर्षीय डम्बरबहादुर भट्टराई र जितबहादुर राई । उनीहरु के भइरहेको छ भनेर हेर्न आएको बताए । ‘ढुंगा पल्टाउन त सकिएन, हेरौं न त के भइरहेको छ भनेर आएको,’भट्टराईले भने ।

विगत १५ दिनदेखि पकुवा खोलामा खानेपानीको इन्टेक निर्माण कार्य भइरहेको छ । युवाहरु जोशिएका छन् । कोही निरन्तर पहिलो दिनदेखि खटिएका छन्, कोही विदा र फुर्सदको समयमा पुग्छन् । तिनै मध्ये एक हुन्, धरान रन समुहका अध्यक्ष रमु राई । उनी धरानले नयाँ अध्यायको इतिहास रहेको धारणा राख्छन् । स्वतःस्फुर्त धरानेहरु काम गर्न आउछन् भन्ने कसैले नपत्याएको बेला गरेर देखाएको भन्दै उनी खुशी व्यक्त गर्छन् ।

भिडियो:

pakuwa1

pakuwa3

pakuwa5

pakuwa6

pakuwa2