धरान: धरानको खानेपानीको मुहान सर्दु जलाधार क्षेत्रको जग्गा साविक बाँझगरा ९ क रोक्का छ । तर यो जग्गा रोक्का हुँदा जलाधार क्षेत्रको जग्गा नपर्ने धरानको वडा नं १३ को वडा कार्यालयसम्मकै जग्गा पनि रोकिएको छ ।

बाँझगरा ९ क मा पर्ने कुन कुन जग्गा जलाधारको हो भनेर प्रष्ट नहुँदा बषौंदेखि बसोबास भएको घरजग्गा पनि रोकिएको हो । जलाधार क्षेत्रमा नपर्ने भएपनि आफुहरुको जग्गा रोक्का भएको र बैंकिङ कारोबार, किनबेचलगायत सबै ठप्प भएर मर्कामा परेको स्थानीयको भनाई छ ।

जलाधारमा नपर्ने जग्गा पनि रोक्का भएपछि वडा १३ का पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । उक्त समितिले बिहिबार बैठक बसेर वडा नं १३, मालपोत कार्यालय र मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले ३ दिनभित्र समस्या समाधान नभए धर्ना बस्ने चेतावनी पनि दिएका छन् । 

gyapan1

संघर्ष समितिका संयोजक हरि कार्कीले जलाधारको जग्गा रोक्का हँुदा आफुहरुलाई कुनै समस्या नभएको तर जलाधारमा नपर्ने जनताको घरजग्गा पनि रोक्का भएकोले संघर्ष समिति गठन गर्नुपरेको बताए । उनले जलाधारको क्षेत्र सिमांकन गरेर तत्काल जनताको घरजग्गा फुकुवा गर्न पनि मेयर साम्पाङसँग माग गरेका थिए । मेयर साम्पाङले ज्ञापन पत्र बुझ्दै सिमांकन गर्ने आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै सम्बन्धित निकायलाई तत्काल पत्राचार गर्ने बताए । तथापी उनले अन्यायमा नपर्ने गरि काम गर्ने उल्लेख गर्दै जलाधारको संरक्षणको दायित्व सबैको भएको पनि बताए । 

धरानको खानेपानीको मुहान संरक्षण गर्न २०३३ सालमा बस्ती उठाएर मोरङको वयरवन क्षेत्रमा मुआब्जा दिई स्थानान्तरण गरिएको थियो । तर लगतकट्टा नहुदा जलाधार क्षेत्रको जग्गा व्यक्तिकै नाममा रहेपछि भुमाफियाहरुले अतिक्रमण तथा किनबेच शुरु गरेका थिए । जलाधार क्षेत्रको अस्तित्व संकटमा परेपछि आन्दोलनसमेत भएको थियो भने सर्वोच्चबाट मुद्दा जितेर जग्गाधनीको नाम गरेर भुमाफियाहरुले छोटीमोरङको ४२ बिघा जग्गा प्लटिङ गरेका छन् । निरन्तरको खबरदारीपछि सरकारले १८२ बिघाभन्दा बढी जग्गा सरकारको नाममा ल्याइसकेको छ भने ४२ बिघा जग्गाबारे पनि थप अनुसन्धान भइरहेको छ । त्यसैक्रममा जलाधारको जग्गा रोक्का हुँदा वडा नं १३ को जलाधार क्षेत्रमा नपर्ने घरजग्गा पनि रोकिएपछि स्थानीय आन्दोलित भएका हुन् । 

भिडियो:

भिडियो: