धरान: मेयर हर्क साम्पाङको योजना अनुसार सम्पन्न भइसकेको पकुवा खोला र हाल काम भइरहेको निशाने खोला प्रोजेक्टबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । 

सामाजिक सञ्जालहरुमा उनको यी दुवै योजना सुख्खायाममा काम नदिने र धरानेहरुको श्रमदान, आर्थिक सहयोग खेर जाने भन्दै आलोचना र सुझावहरु पनि आइरहेको छ । धरानमा सुख्खा याम बिशेष गरि चैत, बैशाखमा चरम खानेपानी संकट हुन्छ । त्यसबेला यो पकुवा र निशाने खोलाको प्रोजेक्टले साथ नदिने हो भने के को लागि मेयर साम्पाङले यो अभियान शुरु गरेका हुन् त ? उनका आलोचकहरुको प्रश्नबारे मेयर साम्पाङ के भन्छन् ? सबैलाई यही प्रश्नले घेरिरहेको छ । 

harka-sampang

आज (बुधबार) दिउँसो मेयर साम्पाङ निशाने खोलामा पुगेका थिए । त्यसक्रममा उनलाई आलोचकहरुले उठाइरहेको प्रश्नबारे जिज्ञासा राख्दा उनले निशाने र पकुवाको पानी सुक्खायाममा खुवाउनको लागि नभएको प्रष्ट्याए । उनले बर्खायाममै भएपनि उक्त पानी ल्याएर नगरबासीलाई वितरण गर्ने र जंगलमा भुमिगत पानी तान्न विजुलीमा भइरहेको करोडौं खर्च जोगाउने उद्देश्य भएको बताए । साथै, निरन्तर पानी तान्न पम्प चलाउदा बिग्रीरहने र बनाउन लाखौं खर्च लाग्ने भएकोले त्यो खर्च जोगाउने उद्देश्य भएको बताए । 

हिउँदको लागि ठुलो पोखरी बनाउने पनि योजना रहेको उनले बताए । उनले भने,‘पकुवा र निशाने खोलाको योजना पानी सुक्खायाममा खुवाउन होइन, अहिले बर्खामा पनि पम्प चलाउनुपर्ने अवस्था छ, र विजुलीमा, पम्प बिग्रदा बनाउदा लाखौं, करोडौं खर्च भइरहेको छ । त्यो खर्च जोगाउनको लागि हो । त्यो बचेको पैसाले नगरकै विकासमा लगाउने हो ।’

अर्को प्रसंगमा मेयर साम्पाङले सुरुङ मार्ग बनाएर तमोरको पानी पनि ल्याउने अध्ययन र योजना भ्रम मात्र भएको बताए । उनले आफु मेयर भइञ्जेल सुरुङ मार्ग अघि नबढ्ने बताए । ‘सर्दु जलाधार क्षेत्र मासेर सुरुङ मार्गको कल्पना नगर्दा पनि हुन्छ,’उनले भने,‘मेरो पालामा हुदैन ।’

भिडियो: