धरान: शुक्रबार दिउँसो २ बजे नै धरान उपमहानगरपालिकामा सहरी विकास मन्त्री मेटमणी चौधरी आउने खबर पुगेको थियो । झापा हुदै धरान आएका मन्त्री चौधरी निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिला गरि आइपुगे । 

उनी उपमहानगरपालिका आउनुअघि धरान ६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र अवलोकन गरे भने धरान ८ स्थित ग्याँस स्टेशन पनि अवलोकन गरेका थिए । उपमहानगरपालिकामा उनलाई मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले स्वागत गरेका थिए । कार्यपालिका बैठक हलमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा मेयर साम्पाङले धरानको विकास तथा समस्याका विभिन्न बिषयमा मन्त्री चौधरीलाई जानकारी दिएका थिए ।

सोही क्रममा उनले खानेपानी समस्या ज्युँका त्युँ रहेको, बसपार्क निर्माणमा सरकारले ससर्त अनुदानको बजेट नदिएको, कोशी राजमार्गले धरान बजार पुरै भत्काउने जोखिम भएकोलगायत बिषयमा उनले जोडदिएका थिए । 

फ्लाइओभर बनाउने योजना

flyover2

मेयर साम्पाङले मन्त्री चौधरी समक्ष २०५ फिटको कोशी राजमार्ग विस्तार हुँदा धराने जनताको घरहरु पुरै भत्कने र आफुहरुलाई जनताले खेदाउने भन्दै फ्लाईओभर बनाउने आफ्नो योजना सुनाएका थिए । उनले धरान ८ स्थित लांघाली चोकदेखि धरान १३ शिवधारासम्म फ्लाईओभर बनाएर बजार क्षेत्र जोगाउन सकिने धारणा राखे ।

‘मेरो आइडियो चै तल लांघाली चोकबाट फ्लाईओभर बनाएर माथी शिवधारा निकाल्न पाए रमितलाग्दो देखिन्थ्यो । त्यता तिर पो जाने हो कि ? सहर पनि बच्ने,’उनले भने,‘२०५ फिटको हाइवे बनाउदा सबै ढुट्टो हुन्छ, हामीलाई त खोदाउछन् । चान्स नै छैन । त्यसैले फ्लाईओभरको परिकल्पना गरेर हामी गयौं भने नयाँ खालको विकास पनि हुन्छ ।’

मेयर साम्पाङले फ्लाई ओभर बनाउन केही बर्ष लागेपनि नयाँ काम हुने र यसले धरानको पर्यटनमा पनि योगदान पुग्ने बताएका थिए । धरानमा सानो झोलुंगो पुल बनाउदा घुम्न मान्छेहरु आउने गरेको उल्लेख गर्दै उनले भने,‘झोलुंगे पुल बनाउदा त कहाँ कहाँबाट मान्छे आउछन् भने त्यो बनाउदा सबैको आँखा धरानमा हुने भो । पर्यटनमा पनि टेवा पुग्छ जस्तो लाग्छ ।’ 

मेरो पुरा साथ हुन्छ: मन्त्री चौधरी

flyover

मन्त्री चौरीले पनि मेयर साम्पाङको प्रशंसा गर्दै उनले अघि सारेको सबै योजनाहरुमा पुरा सहयोग हुने बताए । साथै, मन्त्री चौधरीले धरानको विकासका योजनाहरु लिएर मन्त्रालयमा आउन निम्तोसमेत दिए । 

मन्त्री चौधरीले मेयर साम्पाङबाट सिक्नुपर्ने धेरै कुराहरु रहेको भन्दै उनीजस्ता व्यक्ति विश्व समाजमा पनि नभेटिने बताए । ‘यस्ता व्यक्ति विश्व समाजमा खोज्ने हो भने भेटिदैन जस्तो लाग्छ । तर धरानमा पाएका छौं । उहाँबाट सिक्नुपर्ने कुरा धेरै छ,’ मन्त्री चौधरीले भने,‘ उहाँको सबैभन्दा ठुलो बिशेषता इनोसेन्ट र कमिटमेन्ट पाउछुँ । उहाँबाट नेपाली समाज मात्र होइन, अरु समाजले पनि सिक्नुपर्ने जरुरी छ ।’

बसपार्क निर्माणलाई पुरा गर्न तयार रहेको मन्त्री चौधरीले बताए । यस्तै, उनले खानेपानी, बजार व्यवस्थापन, हाइवेलगायतको महत्वपुर्ण बिषयमा सतप्रतिशत सहयोग रहने भन्दै उनले मन्त्रालयमा आउन आग्रह गरे । ‘यहाँले जुन जुन प्रोजेक्ट अगाडि बढाउने प्रयास गरिराख्नुभएको छ, मेरो पुरा सहयोग हुन्छ । आधा होइन, पुरा हुन्छ,’उनले भने,‘प्रोजेक्टबारे शुरुमा सोच्ने नै हो । सोचिरहदा समाजले शुरुमा पत्याउदैन, हाँसो गर्छ, खिल्ली गर्छ । तर सोचेको चिज पुरा हुन्छ भन्ने मलाई पनि लाग्छ । प्रतिवद्धता चाहिन्छ ।’

भिडियो: