धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकसहित ४ जनाको सपथ ग्रहण तथा पदवहाली गरिएको छ । 

स्वास्थ्य मन्त्री भवानी खापुङले रजिष्ट्रारमा प्रा.डा.सूर्य प्रसाद संग्रौलालाई नियुक्त गरेको छ भने अस्पताल निर्देशकमा डा.जगत नारायण प्रसादलाई नियुक्त गरेको छ । यसैगरि, प्रतिष्ठानको कार्यकारिणी सदस्यमा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागिय प्रमुख प्रा.डा.ज्ञानेन्द्र बहादुर मल्ल र प्याथोलोजी विभागकी विभागिय प्रमुख प्रा.डा.स्मृती कार्की पनि मनोनित भएका छन् । 

bp-rajistar

आज प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित कार्यक्रममा चारै जनालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सपथ ग्रहण गराएका छन् । प्रतिष्ठानका विभागिय प्रमुखहरु, महाशाखा प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक तथा कर्मचारीहरुको उपस्थितीमा सपथ ग्रहण भएको थियो । प्रतिष्ठानका उपकुलपति डा.गिरी र शिक्षाध्यक्ष प्रा.डा.गुरु खनालले नवनियुक्त पदाधिकारीहरुलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नवनियुक्त रजिष्ट्रार संग्रौला र अस्पताल निर्देशक प्रसादले प्रतिष्ठानको हितमा सदैव कार्य गर्ने प्रतिवद्धता जनाउदै प्रतिष्ठान परिवार तथा सरोकारवालाहरुबाट साथ सहयोग रहने अपेक्षा पनि व्यक्त गरे । सपथ ग्रहण लगत्तै उपकुलपति गिरीले रजिष्ट्रार र अस्पताल निर्देशकलाई पदास्थपना पनि गराएका थिए । उनीहरुले आजैबाट आप्mनो कार्यभार सम्हालेका छन् । 

bp-director