धरान: पदबाट राजिनामा दिएका पुर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले क्वार्टर खाली नगरेको र आफुले बस्ने ठाउँ नपाएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले टेण्ट टागेर बस्ने तयारी गरेका छन् । 

रजिष्ट्रार डा.संग्रौलाले आज बेलुकी ५ बजेदेखि प्रतिष्ठान परिसरमा रहेको वीपी कोइरालाको सालिक क्षेत्रमा टेण्ट टागेर बस्ने तयारी गरेका छन् । उनले उक्त टेण्टलाई नै आवास (क्वार्टर)कोरुपमा प्रयोग गर्ने बताएका छन् । यसको लागि तयारी गर्न उनले मातहतका कर्मचारीहरुलाई निर्देशन दिइसकेका छन् । यसैबिषयमा आज बिहान निमित्त उपुकलपति एवं रेक्टर, अस्पताल निर्देशक, विभिन्न शाखा प्रमुखहरुसँग पनि छलफल भएको थियो । 

रजिष्ट्रार डा.संग्रौलाले ५ बजेअघि नै क्वार्टरबारे उपकुलपतिबाट ठोस निर्णय आएमा टेण्टमा आवास बनाएर बस्ने आफ्नो कार्यक्रम रोकिन सक्ने पनि बताए । आफुले साउन १७ गते पदभार ग्रहण गरेको तर अहिलेसम्म पनि रजिष्ट्रारको क्वार्टर उपलब्ध हुन नसकेको उनले बताए । उनी लामो समय गेष्ट हाउसमा बसेका थिए भने ३ दिनयता विराटनगरस्थित घरबाट नै प्रतिष्ठान आउजाउ गरिरहेको बताएका छन् । 

रजिष्ट्रारको क्वार्टरमा राजिनामा दिएका पुर्वरजिष्ट्रार डा.रेग्मी परिवार बस्दै आएका छन् । नवनियुक्त रजिष्ट्रार डा.संग्रौलाका अनुसार उपकुलपतिले यसअघि आवास खाली गराउन ७ दिन र पुनः ३ दिनको समय दिएर पुर्वरजिष्ट्रारलाई पत्राचार गरेका छन् । पुर्वरजिष्ट्रार डा.रेग्मीले भने विदेश जानुपर्ने, परीक्षा आएको, ए टाइप वा पुर्वउपकुलपति डा.आरके रौनियारको क्वार्टर उपलब्ध गराउन भन्दै पत्र लेखेको रजिष्ट्रार संग्रौलाले बताए । आफ्नो कुनै विकल्प नभएपछि टहरोमा नै भएपनि बस्ने भनेर तयारी गरेको पनि उनले बताए । निमित्त उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनालले समस्या हल गर्न आवश्यक समन्वय र पहल भइरहेको बताए । उनले भने, निकास निकाल्नको लागि समन्वय भइरहेको छ । उहाँ बाहिर त्यसरी बस्न नपर्ने अवस्था बन्छ भन्नेमा आशावादी छुँ ।