धरान: एक महिनाको प्रयासबाट सर्दु खर्दु र निशाने खोलाको पानी धरान ११ स्वास्तिका चोकस्थित ट्यांकी र उपभोक्ताको घरमा पुगेको छ ।

मेयर हर्क साम्पाङको योजना अनुसार १० इञ्च पाइपमार्फत ल्याएको पानी आज (बुधबार)देखि पानीट्यांकी र उपभोक्ताको घरमा पुर्याउन सफल भएको हो । स्वातिस्का चोकको ट्यांकीमा १० इञ्च पाइपबाट नै पानी खसालिएको छ । उपभोक्ताको घरमा भने ट्यांकीमा नखसाली नै वितरण गर्ने सिस्टम बनाइएको छ । ट्यांकीमा पानी खसालेपछि उपभोक्ताको घरमा पुर्याउन पम्प चलाउनुपर्ने र विजुलीमा खर्च हुने भएकोले १० इञ्च पाइपलाई पुरानो संरचनामा जोडेर उपभोक्ताको घरमा वितरण गरिएको मेयर साम्पाङले बताए । यसले गर्दा विजुलीमा हुने लाखौं खर्च जोगिने उनले बताए ।

swastika-tank

मेयर साम्पाङले यसअघि पकुवा खोलाबाट पनि श्रमदानमार्फत पानी ल्याएर वडा ११ र १७ को सिस्टममा जोडिसकेका छन् । अहिले सर्दु, खर्दु र निशानेबाट पनि श्रमदानमार्फत पानी ल्याएका हुन् । यी खोलाहरुमा बर्षायाममा प्रशस्त पानी हुने भएपनि हिउँदमा समस्या ज्युँका त्युँ हुने भएकोले मेयर साम्पाङको अहिलेको काम फलदायी नहुने भन्दै आलोचना पनि भइरहेको छ । 

swastika-tank3

तर, मेयर साम्पाङ भने बर्षायाममा पनि धरानबासीलाई पानीको अभाव भइरहेको र पम्पमार्फत जंगलको बोरिङ गरेको पानी वितरण गर्दा लाखौं विजुलीको बिल आउने भएकोले उक्त खर्च जोगाउन आफुले योजना ल्याएको बताउदै आएका छन् । आफ्नो योजनाले बर्षामा पनि पानीको अभाव खेपिरहेका नगरबासीलाई राहत मिल्ने र पम्प चलाउदाको लाखौं खर्च जोगिने उनले दाबी गरे । हिउँदको पानी अभाव समाधान गर्न दीर्घकालिन योजनाकोरुपमा सप्तकोशीबाट पानी ल्याउनुको विकल्प नभएको उनले बताउदै आएका छन् । मेयर साम्पाङका अनुसार गत साउनमा मात्र पम्प चलाउदा विजुलीको बिल २९ लाख आएको थियो भने भदौ महिनाका ३४ लाख हाराहारीमा आएको छ ।

swastika-tabk2

भिडियो: