दमक:  झापाको शिवसताक्षी–८का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ भव्य सांगीतिक कार्यक्रम 'मुस्ताङ्ग मनोरंजन धमाका २०२२' सम्पन्न भएको छ ।

दमकको सरस्वती मावि मैदानमा भएको ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ चर्चित गायक राजेशपायल राईसँगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलो पटक एउटै कन्सर्टमा प्रस्तुति दिएका थिए । राजेशले स्टेजमा गाईरहेका बेला एकदेवले ‘आफु राजेशपायलकै गीत गाएर हुर्किएको’ भन्दै सम्मान प्रकट गरेका थिए । राजेशले पनि ‘अहिले म एकदेवको फ्यान हुँ’ भन्दै एकदेवलाई हौसला दिए ।

कार्यक्रममा दुवै गायकले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर रातको सवा १० बजेसम्म दर्शकस्रोताहरुलाई झुमाए । कार्यक्रममा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङले पनि आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शक स्रोतलाई मनोरञ्जन गराएका थिए । उनीहरुका गीतमा पनि दर्शकहरुले नाचेर र सँगै गाएर साथ दिएका थिए ।

dhamaka1

कदम थिएटर र थैली इन्टरटेन्मेन्टको आयोजना तथा सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको कार्यक्रममा मुस्ताङ वियरसँगै डिभाइन वाइन, वाईवाई क्विक पिरो चाउचाउ, रुस्लान भोड्का, रेडब्लु इनर्जी ड्रिंक, इन्स्पायर इङ्लिस स्कूल, होटल स्वर्गलोक, होटल कामाक्ष लगायतले सहयोग गरेका थिए ।

कार्यक्रममा समाजसेवी तथा कलाकार त्रिभुवन लुम्फुङ्वा लिम्बुले पीडित राईको परिवारलाई ६० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । त्यस्तै याक्थुङ सिंगक फाउन्डेसनको तर्फबाट गीतकार मिना सिंगकले नगद ५ हजार प्रदान गरिन् । स्थानीय गुरु टोली लगायतका विभिन्न समूहहरुले पनि सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायक राजेशपायल राईले आफ्नो तर्फबाट ५० हजार सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रमबाट उठेको रकममा न्युनतम खर्च कटाएर सम्पूर्ण रकम पिडित राईको उपचारमा खर्च गरिने आयोजक समितिका भुपेन्द्र तुम्बाहाङ्फेले बताए ।  राईको रगत ट्रान्स्प्लान्टको लागि ३५ लाख लाग्ने उनको परिवारल जनाएको छ । उक्त रकम जुटाउन परिवारले कार्यक्रम मार्फत सहयोगको अपिल गरेको छ ।