धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षाध्यक्ष पद रिक्त भएको छ । 

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको ५ बर्षे पदावधि मंगलबार (असोज २६) गते सकिएसँगै उक्त पद रिक्त भएको हो । डा.खनाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७४ असोज २७ गते नियुक्त गरेको थियो । पाँच बर्षे कार्यकालमा डा.खनालले ९ महिना कार्यवाहक उपकुलपतिकोरुपमा पनि कार्यभार सम्हालेका थिए ।

कार्यकाल पुरा गरेका डा.खनाललाई उपकुलपति कार्यालयको बैठक हलमा विदाई कार्यक्रम गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले शिक्षाध्यक्षकोरुपमा डा.खनालले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै सदैव संस्थाको हितमा रचनात्मक साथ, सहयोगको लागि धन्यवाद पनि ज्ञापन गरे । साथै, भविष्यमा पनि डा.खनालबाट सकरात्मक साथ, सहयोग पाउने विश्वास उपकुलपति डा.गिरीले व्यक्त गरे । 

rector1

डा. खनालले शिक्षाध्यक्ष पदको कार्यकाल पुरा भएपनि आफु प्रतिष्ठानको स्थायी सेवामा रहेको फ्याकल्टी भएकोले यही सेवामा रहिरहने र संस्थाको हित, विकासमा निरन्तर लागिरहने बताए । वर्तमान पदाधिकारीहरुलाई पनि उनले कार्यकाल सफललताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रजिष्ट्रार, अस्पताल निर्देशक, सहायक अस्पताल निर्देशकहरु, कार्यकारिणी समिति सदस्य, डीनहरु, सहायक डीनहरु, प्रवक्ता, सहप्रवक्तालगायतको उपस्थिति रहेको थियो ।