धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेद्वारहरुले आगामी कार्तिक १७ गतेदेखि मात्र चुनावी प्रचारप्रसार गर्न पाउनेछन् ।

आयोगको आचारसंहितामा चुनावको १७ दिनअघिदेखि मात्र चुनावी प्रचारप्रसारको लागि १५ दिनको समय तोकिएको छ । तर, केही उम्मेद्वारहरुले चुनावी घरदैलो कार्यक्रम शुरु गरेको जानकारी आएपछि धरानस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वार तथा दलको प्रतिनिधिहरुलाई छलफलमा बोलाएर आचारसंहिताबारे जानकारी गराएको छ । शुक्रबार आयोजित उक्त छलफलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीहरु पनि सहभागी थिए ।

election-sunsari

धरानस्थित क्षेत्र नं १ का निर्वाचन अधिकृत रुद्र अर्यालका अनुसार आचारसंहितामा चुनावको १७ दिनअघिदेखि मात्र राजनीतिक दल तथा उम्मेद्वारहरुले प्रचारप्रसार, घरदैलो तथा आमसभा, जुलुसलगायत गतिविधिहरु गर्न पाउछन् । जसअनुसार आगामी कार्तिक १७ गतेदेखि मात्र प्रचारप्रसार गर्न पाउने अवधि शुरु हुनेछ । ‘अहिले नै आचारसंहिता विपरीत प्रचारप्रसार शुरु भयो भन्ने गुनासो आएकोले एक पटक उम्मेद्वारहरुलाई बोलाएर कार्तिक १७ गतेअघि सभासम्मेलन, घरदैलो, सञ्चारमाध्यममा प्रचारप्रसार गर्न रोक लगाएको छ भनेर जानकारी गराएका हौं,’उनले भने ।

election,

कार्तिक १७ गतेदेखि १५ दिन अवधिमा प्रचारप्रसार गर्न पाइनेछ । त्यसबाहेक प्रचारप्रसार गरेको पाइएमा कारबाही हुने पनि अर्यालले जानकारी दिए । छलफलमा प्रजिअ यादवले राजनीतिक दलहरुसँगको राय, सुझाव लिएर नै आयोगको केन्द्रीय कार्यालयले आचारसंहिता तयार गरेको र राजनीतिक दलहरुले मान्ने प्रतिवद्धता जनाएकोले सबैले पालाना गर्नु कर्तव्य हुने बताए । उनले सबै दल, उम्मेद्वारहरुलाई आचारसंहिता विपरीत कार्य नगर्न पनि आग्रह गरेका थिए । उक्त छलफलमा स्वतन्त्र उम्मेद्वारहरुले भने १५ दिनको अवधि छोटो भएको भन्दै आचारसंहिता संशोधन हुनुपर्ने बताएका थिए । 

भिडियो: