धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको डेपुटी अस्पताल निर्देशकमा २ जना चिकित्सक नियुक्त भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले डेपुटी अस्पताल निर्देशकमा एसोसिएट प्रोफेसर डा.लोकेश शेखर जयसवाल र एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बुलाई नियुक्त गरेका हुन् । डा.जयसवाल प्रतिष्ठानको सि.टि.भि.एस.विभागमा कार्यरत छन् भने डा.लिम्बु प्रोस्थोडोन्टिक्स विभागमा कार्यरत छन् । दुवै जनालाई उपकुलपति डा.गिरीले आज (बुधबार)देखि लागु हुने गरि अर्को व्यवस्था नभएसम्मलाई अतिरिक्त जिम्मेवारी दिएका हुन् ।

डा.जयसवाल र डा.लिम्बु यसअघि सहायक अस्पताल निर्देशक पदको जिम्मेवारीमा पनि थिए । दुवै जना गत जेठ १८ गतेदेखि सहायक निर्देशक पदको जिम्मेवारीमा थिए । अस्पताल सेवालाई अझ बढी चुस्त, दुरुस्त बनाउन उपकुलपति डा.गिरीले डेपुटीमा नियुक्त गरेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् ।