धरान: पार्टी छोडेर राप्रपामा उम्मेद्वार भएका र पार्टी निर्णय विपरीत उम्मेद्वारी दिएकालाई सहयोग गरेको भन्दै नेकपा एमालेले १० जना नेता, कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।

एमाले जिल्ला कमिटी सुनसरीले प्रदेश १ कमिटी सदस्य किशोरकुमार कार्कीसहित १० जनालाई साधारण सदस्य पनि नरहने गरि पार्टीबाट निष्कासन गरेको हो । कारबाही भएकामध्ये उद्धव श्रेष्ठले एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेका छन् । उनी राप्रपाबाट प्रदेशसभा सदस्यका उम्मेद्वार छन् । उनी एमालेका संगठित सदस्य थिए ।

उनीबाहेक अन्य ९ जना भने स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोलाई सहयोग गरेको कारण कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेहरुमा प्रदेश १ कमिटी सदस्य किशोरकुमार कार्की पनि छन् । उनी मेन्याङ्बोका निर्वाचन परिचालन कमिटी सदस्य नै छन् । 

यस्तै, नगर कमिटी सचिवालय सदस्य नारायण भट्टराई, सुनसरी काठमाण्डौं सम्पर्क मञ्चका खगेन्द्र मेन्याङ्बो, जिल्ला कमिटी सल्लाहकार हरिहर प्यारा श्रेष्ठ, धरान १३ नम्बर वडा कमिटी अध्यक्ष घनश्याम तिम्सिना, धरान नगर कमिटी सदस्य हरि तामाङ, १ नम्बर क्षेत्रीय सदस्य पहलमान बस्नेत र संगठित सदस्यहरु ठाकुर बहादुर कार्की र राजकुमार राई छन् । 

कारबाहीमा परेकाहरु मनोज मेन्याङ्बोको चुनावी अभियानमा सक्रिय छन् । पार्टी निर्णय विपरीत प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा क्रियाशिल भएको पार्टी विधानको धारा ८१ को उपधारा १ वमोजिम सदस्यबाट निष्काशन गरिएको एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।

एमाले जसपाको चुनावी तालमेल हुँदा एमालेबाट सर्वसम्मत सिफारिश भएका जयकुमार राईको टिकट खोसिएको थियो भने प्रतिनिधिसभा सदस्यको टिकट जसपाको भागमा परेको थियो । एमाले जसपाका संयुक्त उम्मेद्वार जसपा नेता अशोक राई छन् । यसले एमाले ठुलो पंक्तिमा असन्तुष्टी छाएको छ । असन्तुष्ट पक्षले धरानका पुर्वमेयर मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेद्वार बनाएका छन् ।मेन्याङ्बोलाई यसअघि नै पार्टीले कारबाही गरिसकेको छ भने वडा नं १६ र ८ नम्बर कमिटी अध्यक्षहरुलाई पनि कारबाहीको लागि सिफारिश गरिएको छ ।

kishor