धरान: धरानका निवर्तमान मेयर तिलक राई नेपाली कांग्रेसबाट टिकटका आकांक्षी थिए । सत्ता गठबन्धनमा भागवण्डा मिलाउन उनले न प्रतिनिधिसभा न प्रदेशसभा कतै पनि टिकट पाएनन् । 

टिकट नपाएपछि असन्तुष्ट भएर आफ्नै पार्टीका उम्मेद्वार हराउने प्रवृत्तिलाई चिर्दै पुर्वमेयर राई भने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वारहरुलाई विजय गराउन घरदैलो अभियानमा निरन्तर हिडिरहेका छन् । धरान १८ निवासी राई शुक्रबार धरान ११ मा भएको घरदैलोमा सहभागी भएका थिए ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका मुक्साहाङ्ग मेन्याङ्बो उम्मेद्वार छन् । यस्तै, प्रदेशसभा १ (१) मा नेपाली कांग्रेसका उमेश थापा र प्रदेशसभा १ (२) मा नेकपा एकीकृत समाजवादइीका उम्मेद्वार रेवती रमण राई उम्मेद्वार छन् ।

लोकतान्त्रिक वाम गठबन्धनको आवश्यकता र भावना राष्ट्रिय आवश्यकता भएकोले त्यसलाई बुझेर नै आफु सबै उम्मेद्वाहरुलाई जिताउन लागिपरेको उनले बताए । घरदैलो कार्यक्रममा सम्बोधन गर्दै उनले सुकुम्बासीहरुको समस्या समाधान गर्न आफ्नो कार्यकालमै लगत संकलन भएको र सो कार्य निरन्तरता दिदै संघ र प्रदेशबाट काम गराएर धनीपुर्जा दिन लोकतान्त्रिक वाम गठबन्धनलाई विजय गराउनुपर्ने उनले बताए ।